नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

 

काठमाडौँ । नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार गरिएको छ । कम्पनीका अनुसार विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता भएपछि प्रिपेड प्रयोगकर्ताले ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका हुन् । चालु आर्थिक वर्षपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान, घाना, रोमानिया र लाओसका सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा थप सेवा विस्तार गरिएको जनाइएको छ ।

नेपाल टेलिकमले यसअघि नै अष्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत, युएई, सिंगापुर लगायतका देशमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । यस सेवा अन्तर्गत आवाज, डाटा र सन्देश सेवा प्रयोग गर्न सकिन्छ ।

विदेशमा जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी रहेको कम्पनीले जनाएको छ । प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सञ्चालन हुने व्यवस्था छ । भारतमा भने मोबाइलबाट निश्चित कोड डायल गरी सेवा सक्रिय गर्नुपर्छ ।

पोष्टपेड प्रयोगकर्ताका लागि भने सेवा सञ्चालन गर्न न्यूनतम पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था छ । नेपालमै रहँदा वा विदेश पुगेपछि पनि आवश्यक प्रक्रिया पूरा गरी रोमिङ सेवा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ ।

रोमिङ सेवा सम्बन्धी समस्या वा जानकारीका लागि कम्पनीले इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । नेपाल टेलिकमले आगामी दिनमा थप देशमा पनि यो सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।

#नेपालटेलिकम #NTC #Roaming #Telecom #Technology #NepalNews #Communication #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages