

काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टनस्थित एक महत्वपूर्ण सैन्य आधारमाथि अज्ञात ड्रोन देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार उक्त ड्रोन फोर्ट लेस्ली म्याकनेयर सैन्य आधारमाथि देखिएका हुन् । सोही आधारभित्र अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथ बस्दै आएका छन् ।
घटनाबारे जानकारी राख्ने स्रोतहरूका अनुसार देखिएका ड्रोनको पहिचान हालसम्म हुन सकेको छैन भने ती कहाँबाट आएका हुन् भन्ने पनि स्पष्ट छैन ।

पछिल्लो समय इरानमाथि अमेरिकी र इजरायली आक्रमणका कारण सुरक्षा सतर्कता पहिले नै उच्च अवस्थामा रहेको छ । यहीबीच पछिल्ला १० दिनमा एक रात सो सैन्य आधारमाथि धेरै ड्रोन देखिएपछि सुरक्षा थप कडा बनाइएको छ । यस विषयमा ह्वाइट हाउसमा आकस्मिक बैठकसमेत बसेको जनाइएको छ ।
यसैबीच अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूका लागि सुरक्षा चेतावनी जारी गरेको छ भने देशभित्रका विभिन्न सैन्य आधारमा सुरक्षा स्तर बढाइएको छ । केही आधारमा ‘चार्ली’ स्तरको सतर्कता लागू गरिएको छ, जसले सम्भावित खतरा रहेको संकेत गर्छ । ड्रोन देखिएपछि सम्बन्धित मन्त्रीहरूलाई अन्यत्र सार्ने विषयमा पनि छलफल भएको थियो । तर हालसम्म उनीहरूलाई स्थानान्तरण गरिएको छैन ।
सामान्यतया उच्च पदस्थ अधिकारीहरूको बसोबास स्थान गोप्य राखिने गरिन्छ । तर पछिल्लो समय सुरक्षा कारण देखाउँदै केही अधिकारीहरू सैन्य आधारमै बस्न थालेका छन् । यस घटनाले नयाँ प्रविधि प्रयोग भएका ड्रोनजस्ता जोखिमले सुरक्षा चुनौती अझ बढाएको देखिएको अधिकारीहरूको भनाइ छ । अमेरिकी रक्षा मन्त्रालयले भने यस विषयमा विस्तृत टिप्पणी गर्न अस्वीकार गरेको छ ।
#USA #Drone #Security #MilitaryBase #BreakingNews #USPolitics #GlobalSecurity #InternationalNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



