

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ ।
त्यसैगरी शुक्रबारदेखि दाङ, नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धरान र धनकुटा आसपासका जिल्लामा करिब ११९ किलोमिटर प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।

प्रि-मनसुन अवधिमा हावाहुरीका कारण रुख ढल्ने, छाना उड्ने, कमजोर संरचना भत्किने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनमा यस्तै घटनाबाट जनधनको क्षति समेत भएको छ । प्राधिकरणले आवश्यक बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरका झ्यालढोका बन्द गर्न, सवारी साधन सुरक्षित स्थानमा रोक्न तथा भीडभाडमा नआत्तिन आग्रह गरेको छ ।
साथै कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएको तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न पनि चेतावनी दिइएको छ ।
मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी सतर्क रहन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
#मौसम #भारीवर्षा #हिमपात #हावाहुरी #सतर्कता #नेपाल #समाचार #weather #rain #alert #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



