
-केशब पन्थी,अर्घाखाँची ड्टकम।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, बल्कोटको औंलिपोखरी निवासी भोजराज पाण्डे माहुरीपालन व्यवसायमा लाग्नुभएको छ। उहाँले अहिले स्थानीय जातका तथा उन्नत जातका गरी ३५ घार माहुरी पाल्दै आउनुभएको छ।


भारतमा रोजगारीका लागि गएको समयमा माहुरीपालनसम्बन्धी तालिम तथा सीप सिक्ने अवसर पाउनुभएका पाण्डेले स्वदेश फर्किएपछि माहुरीपालन सुरु गर्नुभएको हो। विदेशमा सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गर्दै उहाँले माहुरीपालनलाई आम्दानीको माध्यम बनाउने प्रयास गर्नुभएको छ।


पाण्डेका अनुसार अर्घाखाँचीमा माहुरीपालनका लागि सम्भावना भए पनि पछिल्लो समय पर्याप्त चरन क्षेत्रको अभाव देखिएको छ। माहुरीका लागि आवश्यक फूल तथा वनस्पति पर्याप्त नहुँदा माहुरीपालन व्यवसाय सञ्चालनमा चुनौती थपिएको उहाँको भनाइ छ।


स्थानीय जातका माहुरीसँगै उन्नत जातका माहुरीसमेत पाल्दै आउनुभएका पाण्डेले उपयुक्त चरन क्षेत्रको व्यवस्थापन र किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सके माहुरीपालनलाई जिल्लामा राम्रो व्यवसायका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ।


कृषि तथा पशुपालनमा सम्भावना बोकेको अर्घाखाँचीमा माहुरीपालनलाई व्यावसायिक बनाउन स्थानीय तह तथा सम्बन्धित निकायले किसानलाई प्रोत्साहन, तालिम र आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ।




