होर्मुज पुनः सञ्चालनमा ल्याउन राष्ट्रसंघ सहयोग गर्न तयार

 

काठमाडौँ । संयुक्त राष्ट्रसंघले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न तयार रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसअघि पनि यस्तै पहल गरेको उल्लेख गर्दै सन् २०२२ मा रूस र युक्रेनबीच कालोसागरमार्फत अन्न र मल सुरक्षित ढुवानी गराउन संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका छन् ।

गुटेरेसका अनुसार अहिले पनि होर्मुज क्षेत्रमा पहिले जस्तै अवस्था फर्काउन सकिन्छ कि भन्ने विषयमा खाडी देशहरू र युरोपेली परिषद्सँग निरन्तर छलफल भइरहेको छ ।

यसैबीच गुटेरेसले ट्रम्पद्वारा अघि बढाइएको ‘शान्ति बोर्ड’ पहलप्रति असन्तुष्टि जनाएका छन् । उनले उक्त पहल एक किसिमले ट्रम्पको व्यक्तिगत परियोजना जस्तो बनेको भन्दै यसले जटिल अन्तर्राष्ट्रिय समस्या समाधान गर्न प्रभावकारी नहुने बताएका छन् ।

उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका मूल्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । यद्यपि गाजा पुनर्निर्माणलगायतका विषयमा संयुक्त राष्ट्रसंघ उक्त संरचनासँग सहकार्य गरिरहेको उनले बताएका छन् ।

गुटेरेसले इरानमाथि भएका अमेरिकी र इजरायली हमलापछि ट्रम्पसँग आफूले कुनै कुराकानी नगरेको पनि स्पष्ट पारे ।

उता दक्षिण कोरियाले होर्मुज जलडमरूमध्यमा सुरक्षा पुनःस्थापना गर्न युरोपेली देश र जापानसँग मिलेर पहल गर्ने घोषणा गरेको छ । यस कदमले विश्व ऊर्जा बजार स्थिर राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

दक्षिण कोरियाले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न र आफ्ना ऊर्जा आपूर्ति तथा अर्थतन्त्रमा पर्न सक्ने असर कम गर्न यस्तो निर्णय लिएको जनाएको छ ।

#HormuzStrait #UnitedNations #GlobalTrade #MiddleEast #InternationalNews #Geopolitics #ShippingRoute #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages