

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१–८२ अनुसार नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा मात्र व्यावसायिक कुखुरापालन भइरहेको पाइएको छ । मनाङ र मुस्ताङमा यस्तो व्यवसाय सञ्चालन भएको छैन ।
प्रतिवेदनअनुसार देशभर २२ हजार ९२८ फार्म तथा कृषक कुखुरापालनमा संलग्न छन् भने तीमध्ये ९२ प्रतिशतले मासु, ७.४ प्रतिशतले अण्डा र ०.५ प्रतिशतले चल्ला उत्पादन गर्दै आएका छन् । करिब ६३.७ प्रतिशत फार्म कुनै न कुनै सरकारी निकायमा दर्ता भएका छन् ।

कुल फार्ममध्ये ७९.५ प्रतिशत पुरुषले सञ्चालन गरेका छन् भने २०.५ प्रतिशत महिलाद्वारा सञ्चालित रहेको र अधिकांश, अर्थात् ९८ प्रतिशतभन्दा बढी फार्म व्यक्तिगत स्वामित्वमा रहेक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पाँचदेखि १४ वर्षसम्म सञ्चालनमा रहेका फार्मको संख्या सबैभन्दा बढी देखिएको छ ।
व्यवसायमा ३५ देखि ४४ वर्ष उमेर समूहका सञ्चालकहरूको वर्चस्व रहेको छ, जसले ४४.८ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै शैक्षिक अवस्थातर्फ हेर्दा ५२.२ प्रतिशत व्यवसायीले माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका छन् ।
देशभर कुखुरापालनमा ६३ हजार ८८१ जना संलग्न छन्, जसमध्ये ५८.५४ प्रतिशत पुरुष र ४१.५४ प्रतिशत महिला रहेका छन् । सर्वेक्षणअनुसार एक समयको गणनामा देशमा ३ करोड ३४ लाखभन्दा बढी कुखुरा रहेको छ भने सन्दर्भ वर्षभरमा कुल संख्या १२ करोड ७६ लाखभन्दा बढी पुगेको देखिएको छ ।

कुखुरामा लाग्ने रोग तथा अन्य कारणले ५१.२ प्रतिशत फार्ममा क्षति भएको पाइएको छ । आर्थिक हिसाबले आर्थिक बर्ष २०८१-८२ मा व्यावसायिक कुखुरापालनमा ८५ अर्बको उत्पादन बिक्री भएको देखिएको छ । जसमा करिब ६० अर्ब रुपैयाँ बराबरको मासु, १४ अर्बभन्दा बढीको अण्डा, १० अर्बभन्दा बढीको चल्ला र १ अर्ब बराबरको मल उत्पादन तथा बिक्री भएको छ ।
कुखुरापालनमा सो वर्ष करिब ७९ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ भने व्यवसायीसँग ६१ अर्ब ५० करोडभन्दा बढी स्थायी सम्पत्ति रहेको उल्लेख छ । करिब ३७ प्रतिशत फार्मले ऋण लिएका छन् भने ४.१ प्रतिशतले मात्र बीमा गरेका छन् ।
प्रतिवेदनअनुसार ९६.४ प्रतिशत फार्ममा छुट्टै खोरको व्यवस्था छ भने ३४.१ प्रतिशत व्यवसायीले सम्बन्धित तालिम लिएका छन् । मृत कुखुरा व्यवस्थापनमा अधिकांशले गाड्ने विधि अपनाउने गरेका छन् ।
कुखुरापालन गर्नेमध्ये ६६.१ प्रतिशतका लागि यही मुख्य व्यवसाय रहेको छ । भविष्य योजनाअनुसार ५५.७ प्रतिशतले यथावत् सञ्चालन गर्ने, ३५ प्रतिशतले विस्तार गर्ने, ३.२ प्रतिशतले घटाउने र ६.२ प्रतिशतले बन्द गर्ने योजना बनाएका छन् ।
व्यवसाय घटाउने वा बन्द गर्ने कारणमा बजार अभाव, पूँजी अभाव, कामदारको कमी, व्यवस्थापन समस्या र गुणस्तरसम्बन्धी चुनौती प्रमुख रहेको प्रतिवेदनमा उल्लेख छ ।
#PoultryFarming #AgricultureNepal #Livestock #NepalEconomy #AgriBusiness #Farmers #Production #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



