

काठमाडौँ । इरानका उर्जा केन्द्रमा अमेरिकाले गर्ने भनिएको सैन्य आक्रमण पाँच दिन स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।
रिपोर्टका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ देखि १५ प्रतिशतसम्म घटेर प्रति ब्यारेल ९६ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि झण्डै १३. ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८५. २८ डलरमा पुगेको छ। यसअघि तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो ।

यसैबीच, इरानी सञ्चारमाध्यमहरूले ट्रम्पसँग कुनै पनि प्रकारको वार्ता नभएको दाबी गरेका छन् । इरानी समाचार एजेन्सी फार्सले इरानले चेतावनी दिएपछि अमेरिका पछि हटेको उल्लेख गरेको र कुनै किसिमको प्रत्यक्ष वार्ता नभएको उल्लेख गरेको छ ।
उक्त रिपोर्टअनुसार इरानले आफ्ना ऊर्जा केन्द्रमा आक्रमण भएमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । तर ट्रम्पले भने वार्ता सकारात्मक भएको दाबी गर्दै उर्जा केन्द्रमा आक्रमण गर्ने योजना पाँच दिन स्थगित गरेको घोषणा गरेका थिए ।
यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।



