

दक्षिणी गाजाको अल–मावासी क्षेत्रमा विस्थापित व्यक्तिहरू आश्रय लिइरहेको एउटा पाल (टेन्ट) मा इजरायलले गरेको हवाई हमलामा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले यसबारे जानकारी दिएको हो । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको सोसाइटीले थप जानकारी दिएको छ ।

यसैबीच मध्य गाजाको नुसेइरात शरणार्थी शिविरको दक्षिणी भेगमा मंगलबार साँझ भएको अर्को इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएका छन् । बुधवार हमासले इजरायलले हवाई हमला, कडा नाकाबन्दी र पुनर्निर्माणमा लगाइएका प्रतिबन्धहरू जस्ता सैन्य गतिविधिहरू तिब्र पारेर युद्धविरामको प्रयासलाई बिथोल्न खोजिरहेको आरोप लगाएको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृतकको संख्या ६ सय ८९ पुगेको छ भने १ हजार ८ सय ६० जना घाइते भएका छन् । यससँगै ७ अक्टोबर २०२३ देखि हालसम्म कुल मृतकको संख्या ७२ हजार २ सय ६५ र घाइतेको संख्या १ लाद ७१ हजार ९ सय ५९ पुगेको छ ।



