आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले विज्ञप्ती जारी गर्दै  बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको र उनको नेतृत्वमा मन्त्रिपरिषद गठन भएकोमा बधाई ज्ञापन गर्दै  कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगर्न आग्रह गरेको हो । साथै पुनले सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट भाद्र २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गरेका छन् ।

२- नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान देउवा पक्षका शीर्ष नेताहरूको बैठकले ओली र लेखकमाथि सरकारले राजनीतिक प्रतिशोध गरेको निष्कर्ष निकाल्दै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । काँग्रेसको लेटर हेडमा कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै ओली र लेखकको तत्काल रिहाईको माग समेत गरेका छन् । उनले भनेका छन्- ‘आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ । त्यसको लगत्तै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तैगरी पक्राउ गरी दुवै जना नेताहरूलाई गैरकानुनी हिरासतमा राखेको छ । संविधान र प्रचलित कानुन विपरीत गरिएको यस कार्यको हामी भर्त्सना गर्दछौं । साथै उहाँहरूको तत्काल रिहाइको जोडदार माग गर्दछौं ।’ खड्काले सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा गरिएको भन्ने यो बदनियतपूर्ण कार्यले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको उल्लेख गर्दै कुनै पनि प्रक्रिया पूरा नगरीकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको वर्खिलाप र राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित रहेको बताएका छन् । उनले भनेका छन्- ‘आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा मात्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएका नोक्सानी र संलग्न व्यक्तिहरू बारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपाती भएको प्रष्ट छ ।’ विज्ञप्तिमा खड्काले सरकार गठन भए लगत्तै दुर्भावनापूर्ण तरिकाबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हट्न पुगेको देखिएको उल्लेख गर्दै यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरिएको बताएका छन् । साथै उनले आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन निर्देशन दिएका छन् ।

३- नेपाली काँग्रेसले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा ‘सेलटक्टिभ’ भएको आरोप लगाएको छ । कांग्रेसको पदाधिकारी बैठकले औपचारिक रुपमा कार्की आयोगको प्रतिवेदन सार्बजनिक नै नभएको अवस्थामा भाद्र २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यबहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो । काँग्रेसले भदौ २३ गतेको घटनामा संलग्नसंगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्ने भन्दै दुवै दिनको घटनामा संलग्न जो सुकै भएपनि कारवाही हुनुपर्ने स्पष्ट गरेको छ । बैठकका निर्णय सुनाउने क्रममा प्रवक्ता देवराज चालिसेले काँग्रेसले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको विषयमा कुनै विरोध र प्रदर्शनका कार्यक्रम गर्ने निर्णय नगरेको जानकारी दिएका छन् ।

४- जारी पीएम कप अन्तर्गतका आजका दुवै खेल रद्ध भएका छन् । बर्षाका कारण खेल पुरा हुन नसकेपछि आजका खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै एपीएफले ९.५ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थ्यियो । त्यस्तै अर्को खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै १८ ओभरमा २ विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा खेल रद्ध भएको थियो । आजको खेलपछि अंक तालिकामा नेपाल पुलिस क्लब र आर्मी क्लबको ४-४ खेलमा ५-५ अंक भएको छ भने एपीएफको ३ खेलमा ३ अंक छ भने गण्डकी प्रदेशको ३ खेलमा एक अंक रहेको छ ।

५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेका नेता कार्यकर्ताले काठमाडौँसहित देशका विभन्न जिल्लामा प्रदर्शन शुरु गरेका छन् । काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् भने झापा, बिराटनगर, बाजुरासहितका विभिन्न जिल्लामा प्रदर्शन भएका छन् । प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन् । काठमाडौँको माइतीघरमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा गरेको प्रदर्शनमा तनाव भएको छ । प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । शनिबार बिहान पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

images

६- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताएकी छन् । शनिबार विज्ञप्ति जारी गर्दै भण्डारीले ओली तथा लेखकलाई पक्राउ गर्नु अपरिपक्व निर्णय भएको बताउदै यो वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने बताएकी हुन् । उनले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी छन् । उनले भनेकी छन्- ‘कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष श्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो । यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ ।’ भण्डारीले कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक पर्ने भन्दै हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने उल्लेख गरेकी छन् । उनले सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय भएको बताउदै लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुने बताएकी छन् । साथै सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गरेकी छन् ।

७- सिजनको महत्वपूर्ण चरणमा बार्सिलोनालाई ठूलो झट्का लागेको छ । ब्राजिलका विंगर राफिन्हा चोटका कारण पाँच साता मैदान बाहिर भएसँगै बार्सिलोनालाई ठुलो झट्का लागेको हो । फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा २–१ ले पराजित हुँदा उनले मांसपेशीमा समस्या महसुस गरेका थिए । त्यसपछि गरिएको परीक्षणमा चोट पुष्टि भएपछि उनलाई टोलीबाट फिर्ता पठाइएको हो । ब्राजिल फुटबल महासंघले राफिन्हाको इन्जुरी बारे जानकारी दिँदै राफिन्हा र वेस्ली दुवै खेलाडीलाई प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोलीबाट हटाएको जनाएको छ । दुवैले खेलका क्रममा दाहिने तिघ्राको पछिल्लो भागमा दुखाइ महसुस गरेका थिए । परीक्षणपछि मांसपेशीमा चोट देखिएकाले उनीहरूलाई उपचारका लागि फिर्ता पठाइएको महासंघले स्पष्ट पारेको छ । बोस्टनमा भएको उक्त खेलमा राफिन्हा सुरुआती रोजाइमा रहेका थिए । सुरुमा सामान्य समस्या मानिए पनि पछि गरिएको परीक्षणले चोट गम्भीर रहेको देखाएको हो । चिकित्सकको सल्लाह अनुसार उनी करिब पाँच हप्ता मैदान बाहिर रहने अनुमान गरिएको छ । यस चोटले बार्सिलोनाको आगामी खेल तालिकामा ठूलो असर पर्ने देखिएको छ । अब उनले कम्तिमा पनि एट्लेटिको मड्रिडविरुद्धको खेल, च्याम्पियन्स लिगको क्वाटरफाइनलका दुवै लिग तथा एस्पानियोलविरुद्धको कटालान डर्बी गुमाउनेछन् । एकै समयमा विभिन्न प्रतियोगितामा उपाधि होडमा रहेको बार्सिलोनाका लागि राफिन्हाको अनुपस्थिति ठूलो धक्का मानिएको छ । प्रशिक्षक हान्सी फ्लिकको योजनामा यसले प्रभाव पार्ने निश्चित देखिएको छ ।

८- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । भने संसदमा रहेका दलहरुसँगको संवाद उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने छन् । त्यस्तै कानुनी प्रक्रियाको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् । एमालेले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र दिएर औपचारिक रुपमा ओलीको पक्राउको विरोध शुरु गर्ने भएको छ भने एमालेका भातृ संगठनहरुले भने आजैदेखि प्रदर्शन शुरु गरेका छन् ।

९-  नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् । भने संसदमा रहेका दलहरुसँगको संवाद उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने छन् । त्यस्तै कानुनी प्रक्रियाको संयोजन उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् । एमालेले भोली सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र दिएर औपचारिक रुपमा ओलीको पक्राउको विरोध शुरु गर्ने भएको छ भने एमालेका भातृ संगठनहरुले भने आजैदेखि प्रदर्शन शुरु गरेका छन् ।

images

१०- इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजन सुरु हुनुअघि चेन्नई सुपर किंग्सलाई ठूलो झट्का लागेको छ । टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी सुरुआती दुई साता खेल्न नपाउने भएका छन् । टोलीले शनिबार जानकारी दिँदै धोनी पिँडुलाको चोटबाट पुनःस्थापनामा रहेको र पूर्ण रूपमा फिट हुन केही समय लाग्ने जनाएको छ । चेन्नईले आफ्नो अभियान सोमबार राजस्थान रोयल्सविरुद्ध सुरु गर्नेछ । सुरुआती दुई सातामा उसले पञ्जाब किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्ससँग पनि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । धोनी अनुपस्थित रहने अवस्थामा विकेटकिपिङको जिम्मेवारी सञ्जु सामसनले सम्हाल्ने छन् । उनी कप्तान ऋतुराज गायकवाडसँगै ओपनिङमा उत्रिनेछन् । टोलीमा अन्य विकल्पका रूपमा उर्विल पटेल र कार्तिक शर्मा रहेका छन् । चेन्नईले सामसनलाई ट्रेडिङमार्फत रविन्द्र जडेजा र साम करनलाई राजस्थानलाई दिएर सामसनलाई  टोलीमा भित्र्याएको हो । गत सिजन धोनीले सबै खेल खेलेका थिए र प्रायः अन्तिम ओभरतिर मात्र ब्याटिङ गर्न आउने गरेका थिए । यसअघि पनि चेन्नईले चोटकै कारण अस्ट्रेलियाली तीव्र गतिका बलर नाथन एलिस गुमाएको थियो । उनको स्थानमा स्पेन्सर जोन्सनलाई टोलीमा ल्याइएको छ । अघिल्लो सिजन केवल चार जित हात पार्दै पुछारमा रहेको चेन्नई यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ ।

११- नेकपा एमालेले पुर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै  दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान आकस्मिक रुपमा बसेको सचिवालय बैठकले ओलीको रिहाईको माग गर्दै यसको कानुनी र राजनीतिक रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । त्यस्तै एमालेले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने र प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ । साथै एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय गरेको सचिव बस्नेतले जानकारी दिएका छन् ।

१२- पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परिक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएका ओलीलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गरेका ओलीको रगत जाँच, भिडियो एक्सरेसहितका परीक्षणपछि बेड नम्बर ५०१ भर्ना गरिएको बताइएको छ । कार्की आयोगको सिफारिस अनुसार शनिबार बिहान पक्राउ परेका ओलीलाई भक्तपुरको गुण्डुबाट जिल्ला प्रहरी परिसर, काठमाडौँ ल्याएपछि स्वास्थ्य परिक्षणका लागि अस्पताल लागिएको थियो ।

Nepal life insurance

१३-  बलिवुडमा धुरन्धरले नयाँ ट्रेन्ड सेट गरेको छ । यसअघि ३ घण्टाभन्दा लामो फिल्म हलमा चलाउन गाह्रो हुने मान्यतालाई धुरन्धरले ब्रेक गरेपछि अब अन्य निर्माता-निर्देशकहरु पनि ठुलो बजेटका फिल्मलाई दुई भागमा रिलिज गर्ने तयारीमा जुटेका छन् । यसैक्रममा प्रसिद्ध निर्देशक एस एस राजामौलीको नयाँ फिल्म ‘वाराणसी’ लाई दुई भागमा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो फिल्म हालसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने अनुमान गरिएको छ । यस फिल्मको बजेट १२ सयदेखि १४ सय करोड भारु रहेको बताइएको छ । तीन घण्टाभन्दा बढी समय भए पनि कथा पूरा गर्न पर्याप्त नहुने भएकाले चलचित्रलाई दुई भागमा विभाजन गर्ने निर्णय गरिएको रिपोर्टमा उल्लेख छ । ‘धुरन्धर’ मा अपनाइएको यो ढाँचाले राम्रो सफलता पाएकाले राजामौली र उनको टोलीले पनि त्यही शैली रोजेको बताइएको छ । यद्यपि यो सिक्वेल नभई एउटै कथा दुई भागमा प्रस्तुत गरिने स्पष्ट गरिएको छ । फिल्ममा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन् । ठूलो बजेटमा निर्माण भइरहेको यो चलचित्रको छायांकन भने वाराणसीमा नभई हैदराबादमा गरिएको छ । निर्माताहरूले हैदराबादमै वाराणसीको विशाल सेट निर्माण गरेका छन्, जसमा रत्नेश्वर महादेव मन्दिरको प्रतिकृति समेत तयार पारिएको छ । विगत र वर्तमान समयका दृश्य देखाउनका लागि ठूलो मन्दिर सेट बनाइएकामा केही भागलाई पानीमा डुबाएर दृश्यांकन गरिने जनाइएको छ । यो सेट अस्थायी भएकाले छायांकन सकिएपछि हटाइनेछ । भाडामा लिएको जमिनमा निर्माण गरिएको भएकाले स्थायी रूपमा राखिने छैन । चलचित्रको कथा विभिन्न समयरेखामा आधारित हुने बताइएको छ, जसमा प्राचीन र आधुनिक दुवै पक्ष समेटिनेछ । अभिनेत्री प्रियंका चोपडाका अनुसार चलचित्रमा ईसा पूर्व ७२०० देखि सन् २०२७ सम्मको समयावधि समेटिनेछ, जसले कथालाई अझ रोचक बनाउनेछ । ‘वाराणसी’ चलचित्र सन् २०२५ मा हैदराबादमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । केही दृश्य विदेशमा समेत छायांकन गरिएको छ । यो चलचित्र सन् २०२७ अप्रिल ५ मा प्रदर्शन गर्ने तालिका रहेको छ ।

१४- नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् । उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- ‘बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ  होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली  राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।’

१५- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको अबिलम्ब रिहाईको माग गरेका छन् । नेता भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने भन्दै ओली र लेखकको तत्काल रिहाईको माग गरेका हुन् । नेता भट्टराईले संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने बताउदै भनेका छन्- ‘कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।’ नेता भट्टराईले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस भन्दै पार्टीले कानूनी र राजनीतिक बाटो लिने बताएका छन् । उनले लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनुपर्ने उल्लेख गर्दै प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानुपर्नेमा जोड दिएका छन् ।

१६- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको प्रति सरकारलाई धेरै महँगो पर्ने चेतावनी दिएका छन् । सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । ओली पक्राउ परेपछि एमाले आन्दोलनमा होमिने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम बारे छलफल गर्न केहीबेरमा सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

१७- नवलपरासीको दाउन्ने क्षेत्रमा काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घ!टनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार दुर्घटनामा कम्तीमा तिन जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका थिए । दुर्घटनामा मृतकको बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

१८- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि प्रतिक्रिया दिदै सरकार प्रतिशोधमा लागेको टिप्पणी गरेका छन् । साम्पाङले आफुले चुनावको क्रममा नै अरुले जितेमा प्रतिशोधको राजनीति हुने भनेको बताउदै प्रगतिको राजनीति श्रम संस्कृति नै भएको बताएका छन् ।  उनले भनेका छन्- ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको  कार्यक्रममा भन्याथें “अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! ” भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’

१९-  गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिदै कानुन माथि कोहि नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै ओली र लेखकलाई नियन्त्रणमा लिएको र यो कसैप्रति प्रतिशोध नभएको र केवल न्यायको सुरुवात भएको बताएका छन् । उनले भनेका छन्- ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’ प्रहरीले शनिबार बिहान लेखक र ओलीलाई उनीहरुकै निवासबाट पक्राउ गरेको थियो ।

२०- राप्रपाका नेता कमल थापाले  बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिएको टिप्पणी गरेका हुन् । उनले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने बताउदै सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त भएको बताएका छन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेक्रममा सरकारले शनिबार बिहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

#Top20 #NewsBulletin #DailyNews #NepalNews #Breaking #Headlines #Trending #Update #WorldNews #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages