

काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच निर्माण पक्षले एक्सनप्रधान ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा अभिनेता विराज भट्ट हाबी देखिएका छन् । आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिजरमा दिवंगत अभिनेता सुनिल थापालाई ट्रिबियूट दिइएको छ ।
विराज र सुशील श्रेष्ठबीचको टकरावको दृश्यले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।
निर्देशक चन्द स्वयंको लेखन रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीतले लोकप्रिय बनेको छ ।
फिल्मको ट्रेलर: https://youtu.be/wYWiv8qbhj8



