

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा युक्रेन र रुसबीचको वार्तालाई टर्कीले निरन्तर समर्थन गर्ने कुरामा पुनः जोड दिनुभएको छ ।
यस क्षेत्रमा शान्ति र स्थिरताको तत्काल आवश्यकता रहेको कुरामा उहाँले विशेष जोड दिनुभयो । इस्तानबुलस्थित डोल्माबाहचे राष्ट्रपतीय कार्यालयमा दुई नेताबीच झन्डै एक घण्टाभन्दा बढी समयसम्म बन्द कोठामा छलफल भएको थियो ।

वार्ता पश्चात टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुई नेताबीच द्विपक्षीय सम्बन्ध, जारी द्वन्द्व समाधानका लागि शान्ति पहल र विस्तृत क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको जनाएको छ । कार्य सत्रको क्रममा राष्ट्रपति एर्दोगानले काला सागरमा सामुन्द्रिक परिवहन सुरक्षाको गम्भीर महत्व र ऊर्जा आपूर्ति सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । साथै, निरन्तर रणनीतिक कदमहरू मार्फत युक्रेनसँगको द्विपक्षीय व्यापार अभिवृद्धि गर्न टर्की दृढ रहेको पनि उहाँले व्यक्त गर्नुभयो ।

यसका साथै, टर्कीका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कूटनीतिक साझेदारीलाई सुदृढ बनाउनु पर्ने कुरामा पनि जोड दिनुभयो । टर्कीले लामो समयदेखि यस द्वन्द्वमा आफूलाई एक प्रमुख मध्यस्थकर्ताको रूपमा उभ्याउँदै आएको छ । विशेष गरी इस्तानबुल प्रक्रिया नामक कूटनीतिक ढाँचामार्फत दुवै पक्षबीच प्रत्यक्ष संवाद गराई स्थायी समाधान निकाल्न टर्कीले पहल गर्दै आएको छ ।
#Zelensky #Erdogan #Ukraine #Russia #PeaceTalks #UkraineRussiaWar #WorldNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



