

काठमाडौँ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य खोल्ने अल्टिमेटम अस्वीकार गरेको छ । इरानी सेनाले अमेरिका डराएर धम्की दिइरहेको आरोप लगाएको छ ।

इरानको केन्द्रीय सैन्य मुख्यालय खातम अल अनबिया अन्तर्गतका जनरल अली अब्दोल्लाही अलीअबादीले ट्रम्पको चेतावनीलाई मूर्खतापूर्ण भन्दै पूर्ण रूपमा खारेज गरेका छन् । उनले यस्तो धम्कीले उल्टै ठूलो परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।
यसअघि ट्रम्पले ४८ घण्टाभित्र होर्मुज खोल्न वा सम्झौता गर्न इरानलाई चेतावनी दिएका थिए । उनले समय सकिँदै गएको भन्दै नमाने ऊर्जा संरचनामा आक्रमण गर्ने बताएका थिए । यस विषयमा ट्रम्पले पटक-पटक अल्टिमेटम दिँदा क्षेत्रीय तनाव झन् बढ्दै गएको छ।
यसबीच इजराइलले इरानको ऊर्जा संरचनामा आक्रमण गर्ने तयारी गरिरहेको बताइएको छ । उक्त योजनाका लागि अमेरिकाको स्वीकृतिको प्रतीक्षा भइरहेको जनाइएको छ ।

रिपोर्टअनुसार इजराइली सैन्य अधिकारीहरूले आगामी चरणमा ऊर्जा क्षेत्रलाई लक्षित गर्ने बताएका छन् । योजनामा विद्युत् गृह, ऊर्जा उत्पादन केन्द्र र वितरण सञ्जालमा आक्रमण गर्ने तयारी रहेको छ ।
शनिबार साँझ इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडियो सन्देश जारी गर्दै आक्रमणको दायरा विस्तार गरिएको जानकारी दिएका छन् । उनका अनुसार अब सामान्य पूर्वाधारसमेत निशानामा परेको छ, जसमा स्टील उद्योगजस्ता क्षेत्र पनि समावेश छन् ।
इजराइलले हालसम्म इरानको करिब ७० प्रतिशत स्टील उद्योग ध्वस्त पारिएको दाबी गरेको छ । ती उद्योगमा उत्पादन भएको स्टील हतियार निर्माणमा प्रयोग भइरहेको उसको भनाइ छ ।
#Trump #Iran #Ultimatum #MiddleEast #WorldNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



