

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउनसके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिवार राजधानीमा संवोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुद हुन नसक्ने बताउनुभएको हो । सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थमन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पु¥याउने बताउनु भयो ।
सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताउनु भयो । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरुमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताउनु भयो ।

सांसद झाले भन्नुभयो–‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ । त्यो भनेको प्रभाइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ । जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन । अहिले सन् २०२६ को तथ्यांक हेर्ने हो भने अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी नेपाल मुद्रामा हेर्दा साढे ४६ हजार खर्ब बराबरको छ । यसअर्थ अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब बराबरको छ । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । त्यसैले हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ । अनि बल्ल हामी अघि बढ्न सक्छौँ । डेभलपमेन्ट र गभरमेन्ट पुँजी स्थायीत्वका लागि मात्रै हो । प्राइभेट पुँजी भनेको ग्रोथ हो । त्यसैले हामी ग्रोथमा केन्द्रित हुनुपर्छ । ग्रोथमा केन्द्रित हुन निजी क्षेत्रको अस्तीत्व, क्षमता, संगठनिक अभ्यास हाम्रो लागि महत्वपूर्ण हुन्छ ।’
कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिइएको बताउनु भयो । उहाँकाअनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । महत्वका साथ उद्यमशीलताले स्थान पाएको उहाँको भनाइ छ ।
वैदिकले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हाँसिल गर्न गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भुमिका खेल्ने बताउनु भयो ।

रास्वपाले सय दिने कार्यसूचीमा व्यवसाय दर्ता तथा नविकरणमा सहजीकरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै सांसद बौदिकले उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले अब तिरस्कार नगर्ने प्रष्ट पार्नुभयो ।
सांसद एवं अर्थशास्त्री वैदिकले भन्नुभयो–‘नयाँ सरकारले सय प्राथमिकता ल्याउँदा यसमा उद्यमशीलताका विषयहरु कतै पनि छुटाएको छैन । यथेष्ट रुपमा महत्वका साथ उद्यमशीलताले स्थान पाएको छ । हामीहरु के कुरामा स्पष्ट छौँ भने देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्याय सहितको आर्थिक उन्नती हासिल गर्न गाउँगाउँमा रहेको सानो लघु उद्यमीदेखि लिएर स्टार्टअपसम्मका उद्यमहरुले सबैभन्दा ठूलो भुमिका खेल्ने गरेको छ । सय दिने कार्यसूचीमा रास्वपाले व्यवसायदर्ता, नविकरणमा सहजीकरण गर्ने भनेको छ । व्यवसायहरु स्थानीय तह, प्रदेश, कम्पनी कार्यालय जहाँ दर्ता हुन परेपनि कागजी प्रक्रियामा अल्झन नपरोस् भनेर हामीले कागजी प्रक्रियालाई सहज बनाउन खोजिरहेका छौँ । उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार अब गर्ने छैनन् ।’
उहाँ सरकारले गरिरहेका कामहरुको परिणाम आगामी साताबाटै देखिने बताउनु भयो । कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।



