काठमाडौं – अनलाइन र टेलिफोनबाट अर्डर लिई घरघरमै मासु पुर्याइदिने सेवासहित राजधानीको कपनमा अचानो मिटल्यान्ड खुलेको छ। अचानोले शनिबारदेखि औपचारिक कारोबार सुरु गरेको हो।
सामुदायिक पशु विकास आयोजनाका प्रबन्धक रेवतीमान श्रेष्ठले मासु अर्डर गर्न मिल्ने अचानको वेवसाइटमा क्लिक गरी बिक्री सुरु गरेका हुन्। कार्यक्रममा बोल्दै उनले व्यवस्थित बधशालासहित सञ्चालनमा आएको मिटल्यान्डले गुणस्तरीय मासु उत्पादन गर्ने बताए।
कम्पनीको निर्देशक अशोक अधिकारीका अनुसार अचानोको वेबसाइट डब्लुडब्लु अचानोमिट डट कम डट एनपीमार्फत ग्राहकले मासु अर्डर गर्न सक्नेछन्। एक हजार रुपैयाँभन्दा बढीको अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मासु पुर्याइदिने सेवा दिनेछ। उत्पादन केन्द्रबाट २ किलोमटिर वरपरका ग्राहकलाई निःशुल्क होम डेलिभरी र त्यसभन्दा टाढा उपत्यकाभित्रका ग्राहकलाई सेवा शुल्क ५० रुपैयाँ लिएर होम डेलिभरी सुविधा दिइने उनले बताए।
अचानोले कपन मिलनचोकमा मासुको सोरुम र नजिकै आधुनिक बधशाला पनि बनाएको छ। बधशालामा खसी र कुखुराको बध गरेको ग्राहकले सोरुममा बसेर सिसिटिभीमार्फत हेर्न सक्छन्। अहिले खसी र कुखुराको मात्र मासु बिक्री सुरु गरेको अचानोले चाँडै खरायो र अस्ट्रिचको मासु पनि बिक्री गर्ने कम्पनीले जनाएको छ। कम्पनीले राजधानीका अन्य क्षेत्रमा पनि शाखा खोल्ने जानकारी दिएको छ। – नागरिक