



काठमाडौँ । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले आफ्नो सेवा विस्तार गर्दै नयाँ सन्देश आदानप्रदान गर्ने एप सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘एक्सच्याट’ नामको छुट्टै एप ल्याउन लागेको जनाएको छ।

यो एप विशेषगरी आइफोन र आइप्याड प्रयोगकर्ताका लागि तयार गरिएको हो । कम्पनीका अनुसार यो मुख्य एक्स एपभित्रको पुरानो सन्देश प्रणालीभन्दा फरक हुनेछ र छुट्टै एपको रूपमा सञ्चालनमा आउनेछ ।
एक्सच्याटमा प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिइएको छ । यसमा ‘एन्ड-टु-एन्ड’ सुरक्षात्मक प्रणाली रहनेछ, जसले सन्देश पठाउने र पाउने व्यक्तिबाहेक अरू कसैले पनि पढ्न नसक्ने व्यवस्था गर्नेछ ।

एपमा सन्देश सम्पादन गर्ने, पूर्ण रूपमा मेटाउने, स्क्रिनसट रोक्ने र निश्चित समयपछि आफैँ मेटिने सन्देशजस्ता सुविधा रहनेछन् । साथै ठूलो समूहमा संवाद गर्न र विभिन्न उपकरणबाट आवाज तथा भिडियोमार्फत कुरा गर्न मिल्ने सुविधा पनि दिइनेछ ।
कम्पनीले यो एपमा विज्ञापन नराख्ने र प्रयोगकर्ताको गतिविधि ट्र्याक नगर्ने जनाएको छ । यसलाई सुरक्षित र निजी संवादका लागि केन्द्रित प्लेटफर्मका रूपमा विकास गरिएको बताइएको छ । एप स्टोरमा प्रि-अर्डरका लागि उपलब्ध रहेको यो एप आगामी अप्रिल १७ देखि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।



