


वेस्ट बैंकमा इजरायली सेटलर्स (बस्तीका बासिन्दा) द्वारा गरिएको आक्रमणमा परी दुई प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार रामल्लाहको पूर्वमा रहेको अल–मुघायर गाउँमा भएको उक्त आक्रमणमा १४ वर्षीय अवस अल–नसान र ३२ वर्षीय जिहाद अबु नाइमको ज्यान गएको छ । प्यालेस्टाइनी स्रोतहरूले जनाएअनुसार इजरायली सेनाको सुरक्षामा रहेका सशस्त्र सेटलर्सको समूहले स्थानीय विद्यालयलाई लक्षित गरी गोलीबारी गरेको थियो । इजरायल डिफेन्स फोर्सले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


अर्को एक घटनामा, तुबास शहर नजिकै इजरायली सेटलर्सले एउटा प्यालेस्टाइनी विद्यालय भत्काएका छन् । अल–मालिह समुदायमा अवस्थित सो विद्यालयमा किन्डरगार्टेनदेखि कक्षा ४ सम्मका ७० जना विद्यार्थी अध्ययनरत थिए । प्यालेस्टिनी शिक्षा मन्त्रालयका प्रवक्ता सादिक अल–खादौरले यस कार्यलाई विद्यार्थीको शिक्षाको अधिकारमाथि गरिएको अपराध भन्दै कडा निन्दा गरेका छन् । उनकाअनुसार, विगतका वर्षहरूमा वेस्ट बैंकमा झन्डै १० वटा विद्यालयहरू भत्काइएका छन् ।

अल–बायदार फाउन्डेसनका निर्देशक हसन मलीहातका अनुसार, अक्टोबर ७, २०२३ पछि प्यालेस्टिनी समुदायमाथि हुने आक्रमणमा निकै वृद्धि भएको छ । इन आक्रमणहरूका कारण करिब ८३ प्यालेस्टिनी समुदायका १४ हजार मानिसहरू विस्थापित हुन बाध्य भएका छन् ।
प्यालेस्टिनी लिबरेशन अर्गनाइजेसनको वाल एन्ड सेटलमेन्ट रेसिस्टेन्स कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को मार्च महिनामा मात्र इजरायली सेना र सेटलर्सद्वारा १,८१९ पटक आक्रमण गरिएको छ, जसमा ४९७ वटा आक्रमण सेटलर्सबाट भएका हुन् ।
उल्लेखनीय छ कि, सन् १९६७ को युद्धपछि इजरायलले वेस्ट बैंकमाथि नियन्त्रण कायम गरेको थियो। हाल त्यहाँ ५ लाखभन्दा बढी इजरायली सेटलर्स र करिव ३४ लाख प्यालेस्टाइनीहरू बसोवास गर्छन्। अन्तर्राष्ट्रिय समुदायले वेस्ट बैंकमा रहेका यी बस्तीहरूलाई अवैध मान्दै आएको छ ।
#वेस्टबैंक #प्यालेस्टाइन #हिंसा #मृत्यु #विद्यालय #इजरायल #अन्तर्राष्ट्रिय #समाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



