


म्यानमारको याङ्गुनमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मध्य क्षेत्रमा ४४ डिग्री नाघेको छ । मनसुन शुरु हुनुअघिको यो गर्मीले देशैभरिको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ । म्यानमारको मध्य सुक्खा क्षेत्रमा, जहाँ तापक्रम अक्सर उच्च रहने गर्दथ्यो, दैनिक दिनचर्यामा तिब्र परिवर्तन आएको छ ।

धेरै शहरहरू हालै विश्वका सबैभन्दा तातो ठाउँहरूको सूचीमा परेका छन् । मौसम सम्बन्धी रिपोर्टहरूकाअनुसार देशका धेरै क्षेत्रहरूमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम महशुस गरिएको छ र यो अवस्था आगामी १० दिनसम्म जारी रहने अपेक्षा गरिएको छ ।

मिन्बु, मगवे क्षेत्रमा तापक्रम ४३ डिग्री नाघ्यो । बासिन्दाहरूले घर वरपर पानी छर्कने र शीतल रुखमुनि बस्ने गरेका छन् । वृद्धवृद्धाहरू गर्मीबाट बच्न राहत केन्द्रहरूमा शरण लिन थालेका छन् । अधिकारीहरूले अप्रिलदेखि नै यी केन्द्रहरू सञ्चालनमा ल्याएका छन् ।



