


काठमाडौँ । अमेरिकाको अर्को युद्धपोत मध्यपूर्व नजिक पुगेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज वर्गको यो विशाल विमानवाहक जहाज हिन्द महासागरमा सञ्चालनमा रहेको देखिएको छ।

यो युद्धपोत यसअघि नै क्षेत्रमा रहेका अमेरिकी जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिन आएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन्।
यसअघि सेन्टकमले अर्को विज्ञप्तिमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डले लाल सागर क्षेत्रमा आफ्नो काम जारी राखेको जनाएको थियो।
उक्त जहाजले अमेरिकी पाँचौं बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।



