


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार टर्किए आधिकारिक रूपमा २०२७ देखि फर्मुला १ विश्व च्याम्पियनसिपमा पुनः सामेल हुने घोषणा गर्नुभएको छ । यो एउटा नयाँ दीर्घकालीन सम्झौताको परिणाम हो । इस्तानबुलको डोल्माबाचे वर्किङ अफिसमा आयोजित एक प्रवद्र्धन कार्यक्रममा बोल्दै एर्दोगानले इस्तानबुल पार्क सर्किटले २०३१ सम्म लगातार पाँच सिजनका लागि दौड श्रृंखला आयोजना गर्ने बताउनु भयो ।

यो घोषणा अघि मध्य इस्तानबुलमा सांकेतिक दौड आयोजना गरिएको थियो ।

इस्तानबुलको एसियाली तर्फको बाहिरी भागमा अवस्थित इस्तानबुल पार्क सर्किटले यसअघि २००५ देखि २०११ सम्म फर्मुला १ आयोजना गरेको थियो र २०२० र २०२१ मा कोभिड–१९ महामारीको समयमा छोटो समयका लागि फिर्ता भएको थियो । यो नयाँ सम्झौता टर्किएको खेलकुद र पर्यटन क्षेत्रका लागि एउटा ठूलो कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।



