


काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहले फिल्म‘कान्तारा : च्याप्टर १’ मिमिक्री विवादसँग सम्बन्धित मुद्दामा अदालतमा माफी मागेका छन् ।
रणवीरले कर्नाटक उच्च अदालतमा संशोधित शपथपत्र दायर गर्दै बिना शर्त माफी मागेका हुन् । अदालतले उक्त शपथपत्र अभिलेखमा राख्दै मुद्दा टुंग्याउने संकेत दिएको छ ।

न्यायाधीश एम. नागप्रसन्नाको इजलासले रणवीरविरुद्ध दर्ता गरिएको एफआईआर खारेज गर्न माग गरिएको निवेदनमाथि सुनुवाइ गरेको थियो।
गत वर्ष आयोजित एक कार्यक्रममा रणवीरले फिल्मको एक पात्रको मिमिक्री गर्नुका साथै मन्दिरकी देवीबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो ।
रणवीरका तर्फबाट अधिवक्ता सज्जन पूवैय्याले अदालतलाई अभिनेता बिना शर्त माफी माग्दै नयाँ शपथपत्र दायर गरिएको जानकारी दिएका थिए । साथै उनले रणवीरले मन्दिरमा पुगेर श्रद्धा प्रकट गर्ने प्रतिबद्धता पनि जनाएको बताए ।

उजुरीकर्ताका तर्फबाट यो केवल कानुनी विवाद नभई धार्मिक आस्थासँग जोडिएको विषय भएको दाबी गरिएको थियो । त्यसपछि अदालतले यही कारण एफआईआरमाथि रोक नलगाइएको स्पष्ट पारेको छ ।
अदालतले मौखिक रूपमा चार साताभित्र अभिनेता मन्दिर जाने कुरा आदेशमा उल्लेख गरिने जनाएको छ । रणवीर पक्षले भने धार्मिक भावनाको सम्मान गर्ने भएकाले मुद्दाको गुण-दोषबारे बहस नगरेको जनाएको छ ।
यसअघि पनि उच्च अदालतले प्रसिद्ध व्यक्ति भएकै कारण कसैले कुनै समुदायको धार्मिक भावनामा चोट पुर्याउन नहुने र सार्वजनिक मञ्चमा बोल्दा सावधानी अपनाउनुपर्ने टिप्पणी गरेको थियो ।



