


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार हर्मुज जलडमरूमध्य पुनः खोल्न आह्वान गर्नुभएको छ । सामुन्द्रिक क्षेत्रमा जलमार्गको सुरक्षा र संरक्षण सम्बन्धी सुरक्षा परिषद्को खुला बहसका क्रममा गुटेरेसले उक्त कुरा बताउनुभएको हो ।

गत मार्चको सुरुदेखि हर्मुज जलडमरूमध्यबाट ढुवानीमा आएको अवरोधले विश्वव्यापी ऊर्जा सुरक्षा, खाद्य आपूर्ति र व्यापारमा गम्भीर असर पारेको छ । हर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण सामुन्द्रिक चोकपोइन्टहरू मध्ये एक हो । यसले विश्वव्यापी तेल व्यापारको झन्डै एक–पाँच भाग, विश्वव्यापी तरल प्राकृतिक ग्यासको एक–पाँच भाग र अन्तर्राष्ट्रिय रूपमा व्यापार हुने मलको झण्डै एक–तिहाइ भाग बोक्छ । गुटेरेसकाअनुसार आर्थिक झटका तत्काल महशुस गरिएको छ र सबैले यसको मूल्य तिरिरहेका छन् ।

ऊर्जा र वस्तु बजारहरूमा चरम अस्थिरता, ढुवानी र बीमा लागतमा वृद्धि, र कोभिड–१९ र युक्रेन युद्ध पछिको सबैभन्दा खराब आपूर्ति श्रृंखला अवरोध देखिएको छ । यी दबाबहरू खाली इन्धन ट्याङ्की, खाली पसलका दराजहरू र भोकै बस्नुपर्ने स्थितिमा परिणत भइरहेका छन् ।
मानवीय क्षति बढ्दो छ । ढिलाइ र बढ्दो लागतले जीवन बचाउने डेलिभरीहरू सुस्त बनाइरहेको छ । यो संकट खेतीपातीको महत्वपूर्ण सिजनसँग जुधिरहेको छ । लामो समयसम्मको अवरोधले विश्वव्यापी खाद्य संकट निम्त्याउने जोखिम छ – जसले विशेष गरी अफ्रिका र दक्षिण एसियाका लाखौं मानिसहरूलाई भोक र गरिबीमा धकेल्न सक्छ ।

यो भार सबैभन्दा बढी कम विकसित देशहरू र साना टापु विकासशील राष्ट्रहरूमा परिरहेको छ । ती राष्ट्रहरू जो सामुन्द्रिक आयातमा सबैभन्दा बढी निर्भर छन् । महासचिवले यो घडी संयम, संवाद र विश्वास निर्माणको समय भएको बताउनु भयो । उहाँले साझा आधार फेला पार्न मद्दत गर्ने प्रश्ताव राख्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान र सामुद्रिक असुरक्षाका मूल कारणहरूलाई सम्बोधन गर्न आह्वान गर्नुभयो ।



