धादिङ – देशका विभिन्न भागमा बर्ड फ्लु देखापरिरहेको बेला धादिङ जिल्लामा पनि एउटै क्षेत्रमा २० हजार कुखुरा मरेपछि स्थानीय कुखुरा पालक किसान त्रसित भएका छन् ।
जिल्लाको नौबीसे १ को धार्के क्षेत्रमा मात्र २० हजारभन्दा बढी कुखुरा मरेको किसानले बताएका छन् । विभिन्न कुखुरार्फममा पालिएका कुखुरामा एकैपटक देखिएको रोग भने अझै पहिचान हुन सकेको छैन । जिल्ला पशुसेवा कार्यालय धादिङका पशु विकास अधिकृत डा. शिवजी प्रसाद दासका अनुसार नौबीसेमा रहेका स्थानीय कुखुरार्फममा केही दिन यता कखुरा मर्ने क्रम बढ्दै गएको छ । किसानबाट खबर आए लगत्तै बुधबार धार्केमा पुगेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. दाससहितको प्राविधिक टोलीले मरेको कुखुरा बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशु रोग निधान प्रयोगशालामा पठाइसकिएको र कम्तीमा तीन दिन भित्रमा त्यहाँबाट अन्तिम रिर्पोट आउन सक्ने डा. दासले बताए ।
धार्के क्षेत्रमा व्यावसायिक रूपमा कुखुरापालन गर्दै आइरहेका राम कोइरालाको फर्ममा रहेका ५६ सय मध्ये ३५ सय कुखुरा दुई साता यता मरिसकेका छन् । त्यसै गरी शालिकराम अधिकारीको फर्ममा रहेको ३ हजार ९ सय ३८ वटा कुखुरामध्ये ३ हजार कुखुरा मरेको र अन्य फर्ममा पनि दिनदिनै कुखुरा मरिरहेको खबर कार्यालयमा प्राप्त भएको जिल्ला पशु सेवा कार्यालय धादिङले जनाएको छ । रोग देखिनासाथ उपचारका लागि काठमाडौंको कलंकीस्थित गौरीशंकर भेट फर्मामा कुखुरा लैजाँदा त्यहाँका प्राविधिकले कुखुरामा रानीखेत रोग लागेको जानकारी दिएको रामलक्ष्मण पोल्टी र्फम धार्केका प्रोपाइटर राम कोइरालाले बताए । रानीखेतको उपचार गराउँदा गराउँदै पनि कुखुरा मर्ने क्रम नरोकिँदा किसानहरू समस्यामा पर्दै गएको उनी बताउँछन् । धार्के क्षेत्रमा दुई साता भित्रमा २० हजारको हाराहारीमा कुखुरा मरिसकेको र यसबाट किसानलाई ५० लाख भन्दा बढीको घाटा लागेको पनि कोइरालाले बताए ।
धादिङ जिल्लामा अहिले धार्के नौबीसे, सदरमुकाम र वेनिघाट क्षेत्रमा गरी ५० वटा र्फममा व्यावसायिक रुपमा एक पटकमा ५ सय भन्दा बढीको संख्यामा कुखुरापालन हुँदै आइरहेको छ । ५ सयभन्दा कम संख्यामा कुखुरा पालन गर्ने किसानको संख्या जिल्लाभरिमा ३ सयभन्दा बढी हुन सक्ने भए पनि त्यससम्बन्धी कुनै अभिलेख नरहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
वार्षिक ४ लाख ८६ हजार ७ सय वटा र मासिक २१ हजार ७ सय २८ वटा चल्ला धादिङमा विभिन्न जिल्लाबाट भित्रिने गरेको छ । अहिले धादिङका कुखुरामा देखिएको समस्या बर्ड फ्लु भए नभएको एकिन हुन नसके पनि सावधानी भने अपनाउनु पर्ने जिल्ला पशुसेवा कार्यालय धादिङका प्रमुख डा. शिवजिप्रसाद दासले बताए ।
– कान्तिपुर