मजदुर दिवसको बिदामा हङकङको पर्यटन क्षेत्रमा नयाँ उत्साहः करिव १० लाख चिनियाँ पर्यटक भित्रिने प्रक्षेपण

 

मे १ (मजदुर दिवस) को अवसरमा हङकङको पर्यटन क्षेत्रले नयाँ गति लिएको छ । प्रविधिमा आधारित आधुनिक आकर्षणदेखि प्राकृतिक पदयात्रा र सांस्कृतिक भ्रमणसम्मका विविध गतिविधिले यस वर्षको बिदामा पर्यटकहरूलाई विशेष आकर्षित गरेको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्रको अध्यागमन विभागकाअनुसार यस बिदाको अवधिमा मुख्य भूमि चीनबाट करिव ९ लाख ८० हजार पर्यटक हङकङ भित्रिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । हङकङ डिज्नील्याण्डले यस पटक ‘नेक्स्ट–जेनेरेसन’ रोबोटिक्स र अन्तरक्रियात्मक प्रविधिको प्रयोग गरी नयाँ आकर्षणहरू सार्वजनिक गरेको छ । डिज्नील्याण्डमा प्रश्तुत गरिएको ‘ओलाफ’ नामक रोबोटिक पात्र र अन्य नवीन अनुभवहरूले आगन्तुकहरूलाई थप मनोरञ्जन प्रदान गरिरहेका छन् । व्यापारिक क्षेत्रहरूमा पनि उत्तिकै चहलपहल देखिएको छ। शा तिनस्थित एक सपिङ मलमा ‘कफी फार्म’ को अवधारणामा आधारित पप–अप स्टोर सञ्चालन गरिएको छ भने चिम सा चुई र कजवे बेका गहना पसल तथा नाम चलेका ब्राण्डका स्टोरहरूमा ग्राहकहरूको लामो लाइन देखिएको छ ।

सांस्कृतिक पर्यटनतर्फ पनि पर्यटकको रुचि बढेको छ। पूर्व याउ मा तेई प्रहरी चौकीमा आयोजित सिनेम्याटिक जर्नी प्रदर्शनीले पर्यटकहरूलाई ऐतिहासिक भवनभित्र हङकङका क्लासिक प्रहरी नाटकका दृश्यहरू पुनः अनुभव गर्ने अवसर प्रदान गरेको छ ।

यसका साथै, पदयात्रा (हाइकिङ), समुन्द्री किनारको भ्रमण र ‘सेल्फ–ड्राइभिङ’ टुरजस्ता नयाँ अनुभवहरूले हङकङको पर्यटनको दायरा फराकिलो बनाएको छ । बिदाको पहिलो दिन लियन्टाङ पोर्टबाट हङकङको म्याकलिहोस ट्रेलसम्म जाने बसहरू भरिभराउ रहेका थिए । प्रकृति पर्यटनको वृद्धिसँगै साई कुङ क्षेत्रका सीफूड रेस्टुरेन्टहरूमा पनि ग्राहकको चाप बढेको छ ।

ग्वाङडोङका सवारी साधनहरूलाई हङकङ प्रवेशमा दिइएको सुविधाका कारण सडक मार्गबाट आउने पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ ।
यसै सन्दर्भमा, हङकङ विधान परिषद्की सदस्य भिभियन कोङ मान वाईले सीमापार यातायात सम्पर्कमा थप सुधार गर्नुपर्ने र ‘ग्वाङडोङ–हङकङ–मकाउ ग्रेटर बे एरिया’ ट्राभल पास जस्ता अवधारणा ल्याई छिमेकी सहरहरूसँग मिलेर संयुक्त रूपमा पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

 

Nepal life insuranceimagesimagesimages