


इजिप्टको तटीय शहर एलेक्जान्ड्रियामा टोलेमिक र रोमन कालका वास्तुकला तथा आवासीय अवशेषहरू फेला परेका छन् । इजिप्टको पर्यटन तथा पुरातत्व मन्त्रालयले शनिवार एक विज्ञप्ति जारी गर्दै पुरातात्विक टोलीले ऐतिहासिक संरचनाहरू फेला पारेको जानकारी दिएको हो ।

मन्त्रालयकाअनुसार एलेक्जान्ड्रियाको मोहरम बेक जिल्लामा गरिएका यी खोजहरूले भूमध्यसागरीय क्षेत्रको यस ऐतिहासिक शहरमा विभिन्न कालखण्डमा भएको सहरी जीवनको विकासक्रममाथि नयाँ प्रकाश पारेको छ । इजिप्टमा टोलेमिक काल ईसापूर्व ३३२ देखि ३० सम्म र रोमन काल ईसापूर्व ३९५ सम्म रहेको मानिन्छ । उत्खननका क्रममा परिष्कृत जल व्यवस्थापन प्रणाली समेत फेला परेको छ, जसमा एउटा भिल्लासँग जोडिएको सानो स्नानगृह रहेको छ । साथै, त्यहाँ फेला परेका विभिन्न प्रकारका मोजाइक कलाहरूले उक्त समयको समृद्ध कलात्मक विरासतलाई झल्काउँछन् ।

अनुसन्धान टोलीले मार्बलबाट बनेका केही महत्वपूर्ण मूर्तिहरू पनि फेला पारेको छ । ती मूर्तिहरू बाकस र एस्क्लपियस जस्ता देवताका भएको विश्वास गरिएको छ । यसका अतिरिक्त, देवी मिनर्भाको टाउको नभएको मूर्ति पनि फेला परेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, उत्खनन स्थलमा प्राचीन सिक्का, माटाका भाँडाकुँडा, बत्ती र स्ट्याम्प गरिएका एम्फोरा (ब्mउजयचब) का टुक्राहरू समेत फेला परेका छन्। यी सामग्रीहरूले उक्त समयमा एलेक्जान्ड्रियाको भूमध्यसागरीय क्षेत्रका अन्य मुलुकहरूसँग जीवन्त व्यापारिक र सांस्कृतिक सम्बन्ध रहेको पुष्टि गर्दछ ।



