नेपालमा ट्रेड युनियन र लोकतन्त्रको अवस्थाप्रति अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघको चिन्ता

 

अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले नेपालमा मजदुर अधिकार र लोकतान्त्रिक मूल्यमान्यतामाथि चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपाल भ्रमणमा आउनुभएका कटनले सरकारको पछिल्लो कार्यशैली र निर्णयहरूले दशकौंदेखिको लोकतान्त्रिक उपलब्धि तथा संविधानलाई नै चुनौती दिएको बताउनुभएको हो ।

Nepal life insurance

महासचिव कटनले सरकारले ट्रेड युनियनहरूलाई कमजोर बनाउन खोजेको वा ‘एउटै मात्र युनियन’ हुनुपर्ने आशय राखेकोप्रति आपत्ति जनाउनु भयो ।  कुराकानीमा महासचिव कटनले मजदुरहरूको स्वेच्छाले संगठन खोल्न पाउने अधिकार र उनीहरूको दशकौंदेखिको योगदानको अपमान भएको बताउनु भयो । उहाँले सरकारलाई आफ्नो अडानमा पुनर्विचार गर्न समेत आग्रह गर्नुभयो ।

करिव १ करोड ७० लाख यातायात मजदुरको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख कटनले नेपालको नयाँ सरकारले अवलम्बन गर्न खोजेको नयाँ कार्यविधिले ट्रेड युनियनहरूको स्वतन्त्र अस्तित्वमाथि प्रहार गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एक उदीयमान अर्थतन्त्र र मेहनती मानिसहरू भएको देश हो, तर यहाँको सरकारले अदालत, संसद र प्रशासनप्रति देखाएको अविश्वासले हामीलाई चिन्तित तुल्याएको छ ।’

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) र ग्लोवल काउन्सिल अफ युनियनको तर्फबाट ऐक्यवद्धता सन्देश ल्याएको बताउँदै कटनले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र ट्रेड युनियन अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा थप लगानी र पर्यटन विकासका लागि पारदर्शिता, निष्पक्षता र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को पालना हुनुपर्नेमा जोड दिनुभयो ।
रोजगारीको क्षेत्रमा बढ्दो ‘सब–कन्ट्रयाक्टिङ’ मोडलले मजदुरको लागत घटाए पनि यसले समाज निर्माणमा योगदान नदिने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘दिगो भविष्यका लागि धेरैभन्दा धेरै मजदुरलाई सामाजिक सुरक्षा, न्युनतम पारिश्रमिक, र कार्यस्थलको सुरक्षा जस्ता ‘सेफ्टी नेट’ भित्र ल्याउनु आवश्यक छ ।’

खाडी मुलुकहरूमा कार्यरत हजारौं नेपाली श्रमिकहरूको सन्दर्भमा बोल्दै कटनले कतार, साउदी अरब लगायतका देशमा रहेका यातायात मजदुरहरूको अधिकार सुनिश्चित गर्न आईटीएफले सक्रियताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नेपालका प्रमुख मजदुर संगठनहरू (जेटीयूसीसी, जिफन्ट, एनटीयूसी, एन्टफ) वर्तमान परिस्थितिमा अन्यौलमा रहेको सन्दर्भमा उहाँले मजदुर नेतृत्वलाई विचलित नहुन सुझाव दिनुभयो ।

‘कहिलेकाहीँ जनआक्रोशका कारण सरकारहरू परिवर्तन हुन्छन्, यस्तो बेला युनियनहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण समाचारहरूलाई चिर्दै मजदुरको आवाजलाई एकीकृत गरी सरकारसँग संवादको टेबुलमा बस्नु नै अहिलेको सही बाटो हो ।’ कटनले भन्नुभयो । 

images

उहाँले नेपालको युवा पुस्ताको ऊर्जालाई संयुक्त राष्ट्रसंघको मूल्यमान्यता र अन्तर्राष्ट्रिय सहयोगको दिशामा डो¥याउनुपर्नेमा जोड दिँदै मजदुर आन्दोलन सरकारसँग रचनात्मक छलफलका लागि सधैं तयार रहेको स्पष्ट पार्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages