‘बडिगार्ड’ सलमानलाई करिना कपुरले बलिउडको ज्यान भएको तारिफ


 

मुम्बई  – करिना कपुर बलिउडकी पहिलो रोजाइकी नायिका हुन् । जिरो फिगरले जति उनी चर्चित छन्, जुनसुकै भूमिकाको अभिनयमा पनि उनी उत्तिकै माहिर मानिन्छन् । तर नायिकाले भने सलमान खानको तारिफ गरेकी छन् ।

‘बडिगार्ड’ सलमानलाई करिनाले बलिउडको ज्यान भनेकी छन् । आफ्नै प्रेमीसँग होम प्रोडक्सन ‘एजेन्ट विनोद’ मा देखिन लागेकी उनले भने सैफ अली खानलाई नै चिढ्याउने गरी अर्का खानको तारिफ गरेकी हुन् । करिनाले यसो भनेकी चाहिँ सलमानका फिल्मले भारतीय फिल्म उद्योग धानेको आशयमा हो । पहिले आफू चले पनि फिल्म नचल्ने सलमानका पछिल्लो समय ‘दबंग’, ‘रेडी’ र ‘बडिगार्ड’ ले अर्बौंको व्यापार गरेका थिए ।

‘सलमान कोमल मुटु भएका व्यक्ति हुन्, यतिखेर उनैले बलिउड फिल्म उद्योग बचाइरहेका छन्,’ करिनाले भनिन् । उनले शाहरुख खानलाई भने शक्तिको स्रोत भएको बताएकी छन् ।

 

‘एजेन्ट विनोद’ को प्रमोसनमा जुटेकी करिनाले तत्काल आफ्नो र सेफको बीचमा विवाह भइनहाल्ने समेत स्पष्ट पारेकी छन् । यद्यपि करिनाले सेफ पनि भर्सटाइल एक्टर भएको भन्दै प्रेमीको मन राखिदिएकी छन् ।