


काठमाडौँ । चीनका दुई पूर्वरक्षामन्त्री वेई फेंगहे र ली शांगफूलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड सुनाइएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको सैन्य अदालतले दुवैलाई छुट्टाछुट्टै सजाय सुनाएको हो । वेईलाई घुस लिएको दोषी ठहर गरिएको छ भने लीलाई घुस लिने र दिने दुवै आरोपमा दोषी ठहर गरिएको बताइएको छ । दुवैलाई मृत्युदण्ड सुनाइए पनि दुई वर्षको समय दिइएको जनाइएको छ ।

वेई र उनका उत्तराधिकारी लीलाई सन् २०२४ मा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको थियो । उनीहरू राष्ट्रपति सी जीनपीङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका पूर्व सदस्यसमेत थिए ।

वेई फेंगहेले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका उत्तराधिकारी ली शांगफूले भने केही महिनामात्र उक्त पदमा काम गरेका थिए । दुवैले पिपुल्स लिबरेशन आर्मी अन्तर्गतको महत्त्वपूर्ण रकेट फोर्सको नेतृत्व गरेका थिए । उक्त फोर्स सन् २०१५ मा सी जीनपीङको सैन्य सुधार कार्यक्रमअन्तर्गत स्थापना गरिएको थियो । ली शांगफूलाई सी चिनफिङले व्यक्तिगत रूपमा उच्च रक्षा पदका लागि चयन गरेका थिए । तर उनलाई पदबाट हटाइएपछि रकेट फोर्सका धेरै उच्च अधिकारीलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको थियो ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले व्यापक भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् । यस अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढी अधिकारीमाथि कारबाही गरिएको बताइएको छ, जसमा धेरै उच्च सैन्य अधिकारी र जनरलसमेत रहेका छन् ।
यो अभियान मुख्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्न केन्द्रित रहेको बताइएको छ ।



