


थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटबीच फिलिपिन्समा सीमा क्षेत्रको अवस्था र सुरक्षाका विषयमा महत्वपूर्ण भेटवार्ता भएको छ । फिलिपिन्सको सेबुमा आयोजित ४८ औं आसियान शिखर सम्मेलनको पङ्क्तिमा भएको उक्त भेटवार्तामा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसको समेत उपस्थिति रहेको थाइल्याण्डको प्रधानमन्त्री कार्यालयले बिहीबार जानकारी दिएको छ ।

थाई प्रधानमन्त्री कार्यालयकी प्रवक्ता रच्चदा थनादिरेककाअनुसार प्रधानमन्त्री अनुटिनले कम्बोडियाली र फिलिपिन्सका नेताहरूसँग थाइल्याण्ड–कम्बोडिया सीमा क्षेत्रमा उत्पन्न परिस्थितिबारे छलफल गर्नुभएको थियो । त्रिपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री अनुटिनले भन्नुभयो, ‘मैले प्रधानमन्त्री हुन मानेटसँग अत्यन्तै मित्रवत र स्पष्ट छलफल गरेको छु । हामी दुवै पक्ष संवादका माध्यमबाट शान्ति प्रवद्र्धनका लागि संयुक्त रूपमा अगाडि बढ्न प्रतिवद्ध छौँ ।’

प्रधानमन्त्री अनुटिनले दुई देशबीच विश्वासको वातावरण निर्माण गर्न र व्यावहारिक उपायहरू अवलम्वन गर्न दुवै देशका विदेशमन्त्रीहरूलाई निकटताका साथ कार्य गर्न निर्देशन दिइएको समेत जानकारी दिनुभयो ।
यसैगरी, कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यस छलफललाई ‘दिगो शान्तिका लागि साझा संकल्पको प्रतिबिम्ब’ भएको बताउनु भयो । उहाँकाअनुसार बैठक मुख्यतया सीमा क्षेत्रमा तनाव न्युनिकरण र विश्वास अभिवृद्धिका उपायहरूमा केन्द्रित रहेको थियो, जसले गर्दा द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन र स्थायी शान्तिका लागि एक प्रभावकारी कार्यढाँचा तयार गर्न सहयोग पुग्नेछ ।



