


अमेरिकी सेनाले ओमानको खाडीमा इरानी ध्वजावाहक थप दुईवटा तेल ट्याङ्करहरूलाई निष्क्रिय पारेको छ । इरानी बन्दरगाहहरूमाथि अमेरिकाले जारी राखेको नाकाबन्दीका क्रममा शुक्रवार यो कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।


सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सेन्टकमले इरानी बन्दरगाहमा प्रवेश गर्न खोजिरहेका दुईवटा खाली तेल ट्याङ्करहरूमाथि नाकाबन्दीको प्रावधानअनुसार कारबाही गरिएको उल्लेख गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डकाअनुसार विमानवाहक युद्धपोत ‘यूएसएस जर्ज एच डब्लु बुश’ बाट उडेको एफ/ए–१८ सुपर हर्नेट लडाकु विमानले ती दुवै ट्याङ्करहरूको ’स्मोकस्ट्याक’ (धुवाँ निकाल्ने नली) मा सटीक प्रहार गरी तिनीहरूलाई अगाडि बढ्न नसक्ने बनाएको थियो ।

इरानका सबै बन्दरगाहहरूमा अमेरिकाले लगाएको वर्तमान नाकाबन्दीलाई कार्यान्वयन गर्ने सिलसिलामा यो कारबाही भएको अमेरिकी सेनाले स्पष्ट पारेको छ ।



