


बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन रादेव देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । शुक्रवार बुल्गेरियाली संसदले रादेव र उहाँले प्रश्ताव गरेको मन्त्रिपरिषद्लाई बहुमतले अनुमोदन गरेसँगै उहाँ नयाँ प्रधानमन्त्री बन्नुभएको हो । प्रोग्रेसिभ बुल्गेरिया (पीबी) पार्टीका नेता रादेवले २४० सदस्यीय संसद्मा १२४ सांसदको समर्थन प्राप्त गर्नुभयो ।

संसद्को दोस्रो ठूलो दल ‘जीईआरबी–यूडिएफ’ मतदान प्रक्रियामा तटस्थ बसेको थियो भने अन्य विपक्षी दलहरूले नयाँ सरकारको विपक्षमा मतदान गरेका थिए । संसदले मन्त्रिपरिषद्को संरचना र सदस्यहरूको नामावलीलाई समेत स्वीकृत गरेको छ । बुल्गेरियाको संवैधानिक व्यवस्थाअनुसार सरकार गठनका लागि संसद्मा उपस्थित सदस्यहरूको बहुमत आवश्यक पर्दछ ।

सन् १९६३ मा जन्मिएका रादेव सन् २०१६ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो भने सन् २०२१ मा उनी पुनः सोही पदमा निर्वाचित हुनुभयो । गत अप्रिल १९ मा सम्पन्न मध्यावधि संसदीय निर्वाचनमा प्रतिष्पर्धा गर्न उहाँले सन् २०२६ को जनवरीमा राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ लडाकु विमान चालक (फाइटर पाइलट) र बुल्गेरियाली वायुसेनाको कमाण्डरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
संसद्मा आफ्नो मन्त्रिपरिषद् प्रश्तुत गर्दै नवनियुक्त प्रधानमन्त्री रादेवले मुलुकले भोगिरहेका चर्को मूल्यवृद्धि, उच्च मुद्रास्फीति, आर्थिक दबाब र क्षेत्रीय द्वन्द्वजस्ता चुनौतीहरूलाई सम्बोधन गर्नु आफ्नो प्राथमिकता हुने बताउनु भयो । उहाँले आफ्नो सरकारले देशको आधुनिकीकरण, आर्थिक विकास, सार्वजनिक सुरक्षा र बुल्गेरियालाई सैन्य द्वन्द्वबाट जोगाउन विशेष ध्यान केन्द्रित गर्ने स्पष्ट पार्नुभयो ।

यसैगरी, रादेवले गरिबी न्युनिकरण, व्यावसायिक वातावरणमा सुधार, वैदेशिक लगानी आकर्षण, उच्च प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग विस्तार र अपराध नियन्त्रणमा सशक्त कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
आर्थिक नीतिका कारण उत्पन्न जनविरोधका बीच सन् २०२५ डिसेम्बरमा तत्कालीन प्रधानमन्त्री रोसेन जेल्याज्कोभको सरकार ढलेपछि अप्रिलमा संसदीय निर्वाचन भएको थियो। बुल्गेरियामा पछिल्लो पाँच वर्षमा भएको यो आठौँ संसदीय निर्वाचन हो ।



