पेन्टागनद्वारा युएफओसम्बन्धी ‘कहिले नदेखिएका’ गोप्य दस्तावेजहरू सार्वजनिक

 

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रवार पहिचान नभएका अनौठा परिघटना (यूएपी), जसलाई सामान्यतया युएफओ (ग्ँइ) भनिन्छ, त्यससम्बन्धी हालसम्म सार्वजनिक नगरिएका दस्तावेजहरू सार्वजनिक गर्न शुरु गरेको छ । यी फाइलहरूलाई सरकारी वेबसाइटमा संग्रहित गरिएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्य थप सामग्रीहरू पनि क्रमशः सार्वजनिक गर्दै लगिनेछ । हाल उक्त वेबसाइटमा तस्बिर, भिडियो, आधिकारिक कागजात र प्रत्यक्षदर्शीका बयानहरू सहित कुल १६१ वटा फाइलहरू सर्वसाधारणका लागि उपलब्ध गराइएको छ ।

यी दस्तावेजहरूमा सन् १९४० को दशकदेखि हालका वर्षसम्म विश्वभर रिपोर्ट गरिएका ४०० भन्दा बढी यूएपीसँग सम्बन्धित घटनाहरूको विस्तृत विवरण समावेश छ । यी विवरणहरू अमेरिकी विदेश मन्त्रालय, रक्षा मन्त्रालय, नासा, एफबीआई र विदेशस्थित अमेरिकी कूटनीतिक नियोगहरू लगायतका विभिन्न निकायहरूले संकलन गरेका हुन् ।

मन्त्रालयका अनुसार यी सामग्रीहरूमा सुल्झन बाँकी रहेका मुद्दाहरू समावेश छन् । अपर्याप्त तथ्यांक लगायतका विभिन्न कारणले गर्दा सरकारले यी देखिएका परिघटनाहरूको प्रकृतिबारे कुनै निश्चित निष्कर्ष निकाल्न सकेको छैन । सार्वजनिक गरिएका सबै सामग्रीहरूको सुरक्षा जाँच गरिए तापनि धेरैजसो रिपोर्ट गरिएका विसंगतिहरूको प्रकृतिको पूर्ण विश्लेषण हुन बाँकी रहेको बताइएको छ ।

रक्षा मन्त्रालयले यी फाइलहरूमा समावेश जानकारीका आधारमा जनताले स्वयं आफ्नो धारणा बनाउन सक्ने जनाएको छ । यता नासाका प्रशासक जेरेड आइज्याकम्यानले यस्ता परिघटनाहरूको अध्ययनमा निकायले वैज्ञानिक अनुसन्धान र तथ्यांक विश्लेषणलाई नै प्राथमिकता दिने बताएका छन् ।

सार्वजनिक गरिएका सामग्रीहरूमा एपोलो ११, एपोलो १२ र एपोलो १७ चन्द्र अभियानसँग सम्बन्धित अभिलेखहरू समेत रहेका छन् । एपोलो १७ का अन्तरिक्ष यात्रीहरूले आफ्नो अन्तरिक्ष यान नजिकै अत्यधिक चम्किला कण वा टुक्राहरू उडिरहेको देखेको रिपोर्ट गरेका थिए । ती टुक्राहरू यानबाट छुट्टिएका बरफ वा रङका टुक्राहरू हुन सक्ने उनीहरूको अनुमान भए तापनि त्यसलाई उनीहरूले केवल एक ’अड्कल’ मात्र भनेका थिए ।
पेन्टागनकाअनुसार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएपीसँग सम्बन्धित सरकारी फाइलहरू पहिचान गरी सार्वजनिक गर्न दिएको निर्देशनपछि यो प्रक्रिया अघि बढेको हो ।

पछिल्ला वर्षहरूमा अमेरिकी संसद (कांग्रेस) ले यूएपीका विषयमा धेरै पटक सुनुवाइ गरिसकेको छ भने सैन्य भिडियो र गुप्तचर अधिकारीहरूका खुलासाले जनचासो बढाउँदै लगेको छ । यससँगै अमेरिकी सरकारले ड्रोन, पहिचान नभएका विमान र हवाई क्षेत्रको सुरक्षा निगरानीलाई पनि तिब्र पारेको छ । यद्यपि, हाल सार्वजनिक गरिएका फाइलहरूमा अमेरिकी सरकारको अन्य ग्रहका जीवहरूसँग कुनै सम्पर्क भएको वा उनीहरू पृथ्वीमा आएको भन्ने कुनै संकेत नदेखिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

 

Nepal life insuranceimagesimagesimages