


काठमाडौँ । पश्चिम बंगालको नयाँ मुख्यमन्त्रीका रूपमा शुभेन्दु अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । शनिबार ब्रिगेड परेड ग्राउन्डमा राज्यपालले अधिकारीलाई मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् ।

योसँगै पश्चिम बंगालमा बिजेपी युगको शुरुवात भएको छ । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री र राज्यका मुख्यमन्त्री सहभागी भएका थिए । मुख्यमन्त्रीसहित अन्य पाँच जनाले मन्त्रीको शपथ लिएका छन् ।
अधिकारीलाई विधायक दलको बैठकले शुक्रबार सर्वसम्मत रूपमा नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

बैठकमा केन्द्रीय गृहमन्त्री समेत रहेका अमित शाह केन्द्रीय पर्यवेक्षकका रूपमा सहभागी भएका थिए । प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शुभेन्दु अधिकारीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै विधायकको समर्थनपछि अमित शाहले औपचारिक घोषणा गरेका थिए । अमित शाहले चुनाव प्रक्रिया सम्पन्न भइसकेपछि विभिन्न प्रस्ताव र समर्थन प्राप्त भएको, तर सबैले एउटै नाममा समर्थन जनाएकाले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेता घोषणा गरिएको बताएका छन् ।

अब नयाँ मन्त्रिमण्डलमा मन्त्रालय बाँडफाँट, सरकारको प्राथमिकता तथा प्रशासनिक संरचनाबारे समेत छलफल भएको छ । पश्चिम बंगालका लागि अमित शाहलाई केन्द्रीय पर्यवेक्षक तथा मोहन चरण माझी लाई सह–पर्यवेक्षक तोकिएको छ ।
हालै सम्पन्न विधानसभा चुनावमा भाजपाले ऐतिहासिक सफलता हासिल गरेको थियो । २९४ सदस्यीय विधानसभामा भाजपा २०६ सिट जित्दै पहिलोपटक पश्चिम बंगालमा सरकार गठनको अवस्थामा पुगेको हो । सत्तारुढ तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ ।



