


हंगेरीको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले शनिवार पिटर माग्यारलाई देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित गरेको छ । मतदानमा संसदका कुल १९९ सदस्यमध्ये १९५ जना उपस्थित भएकोमा माग्यारको पक्षमा १४० र विपक्षमा ५४ मत परेको थियो भने एक सदस्य तटस्थ रहेका थिए ।

हंगेरीको ‘तिस्जा पार्टी’ ा नेता माग्यारले आवश्यक बहुमत प्राप्त गरेसँगै उनको चार वर्षे कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि आफ्नो पहिलो सम्बोधनमा माग्यारले नयाँ सरकारले केवल सत्ता परिवर्तन मात्र नभई समग्र ‘प्रणाली नै परिवर्तन’ गर्ने जनादेश पाएको बताउनु भयो ।

उहाँले देशमाथि शासन गर्नुको सट्टा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दै राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक पुनर्जागरण र राष्ट्रिय एकतामा जोड दिनुभयो ।

यसै वर्षको अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा माग्यार नेतृत्वको तिस्जा पार्टीले भिक्टर ओर्बानको सत्तारूढ फिडेज–केडीएनपी गठबन्धनलाई ठूलो मतान्तरले पराजित गरेको थियो । उक्त निर्वाचनमा कुल १९९ सिटमध्ये १४१ सिट जित्दै माग्यारको पार्टीले संसद्मा दुई–तिहाइ बहुमत सुनिश्चित गरेको थियो ।
सन् १९८१ मार्चमा जन्मिएका माग्यारले पाजमानी पिटर क्याथोलिक विश्वविद्यालयबाट कानू्रन र मानविकीमा उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँले यसअघि प्रशिक्षार्थी न्यायाधीश, अधिवक्ताका साथै परराष्ट्र मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ सन् २०२४ मा तिस्जा पार्टीको नेता र युरोपेली संसद्को सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो ।

माग्यार प्रधानमन्त्री निर्वाचित भएपछि बुडापेस्टस्थित संसद भवन अगाडिको कोसुथ स्क्वायरमा भेला भएका समर्थकहरूले उत्सव मनाएका छन् । सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै उहाँले हंगेरीको उज्ज्वल भविष्यका लागि आशा र एकताको आह्वान गर्नुभयो ।



