


काठमाडौँ । अभिनेता सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएपछि तीन आदेश जारी गरेका चाहन । शपथ लिएकै स्थान आइतबार चेन्नईस्थित नेहरू रंगशालामा मुख्यमन्त्री विजयले तीन आदेशमा हस्ताक्षर गरेका हुन् ।

उनले प्रत्येक घरलाई २ सय युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, लागुऔषध तथा नशासम्बन्धी समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिलाको सुरक्षाका लागि विशेष कार्यदल बनाउने निर्णय गरेका हुन् ।

शपथ पछिको सम्बोधनमा विजयले राज्यमा सामाजिक न्यायसहितको सरकार संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफुले गर्न नसक्ने बाचा नगर्ने स्पष्ट गर्दै जनताका दैनिकीसँग जोडिएका विषय आफ्नो पहिलो प्रथामिकता रहेको बताएका थिए ।

विजयको शपथसँगै राज्यमा झण्डै छ दशकदेखि पालैपालो सत्तामा रहँदै आएका दुई प्रमुख द्रविड दल द्रविड मुनेत्र कडगम र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगमको राजनीतिक वर्चस्व अन्त्य भएको छ । उनीसँगै तमिलगा वेत्री कडगमका केही वरिष्ठ नेतासहित थप नौ जनाले मन्त्री पदको शपथ लिएका छन् ।
विजयलाई मुख्यमन्त्री बनाउन ५ सिट जितेको भारतीय राष्ट्रिय काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो । काँग्रेस नेता राहुल गान्धी विजयको शपथ समारोहमा सहभागी भएका थिए र विजयले पनि आफ्नो सम्बोधनमा राहुल गान्धीको प्रसंशा गरेका थिए ।
साथै राज्यपालले विजयलाई मे १३ भित्र वा त्यसअघि विधानसभा बैठकमा विश्वासको मत लिन निर्देशन दिएका छन् ।



