आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।  प्रवक्ता मनिष झाका अनुसार पाण्डेलाई शिक्षा विभागको प्रमुखमा पाण्डेलाई मनोनयन गरेको हो । त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी, राट (र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप-प्रमुखमा पुर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको प्रवक्ता झाले जानकारी दिएका छन् । त्यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह-महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।

२- नेपाल क्रिकेट संघ (क्यान) को विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । साधारण सभाले आर्थिक, प्रशासनिक तथा क्रिकेट विकाससँग सम्बन्धित प्रस्तावहरू पारित गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । साधारण सभाले नेपाल क्रिकेट संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय कार्यसमितिबाट प्रस्तुत सन् २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट पनि पारित गरिएको छ । साथै एसियाली क्रिकेट परिषद् वा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट थप कार्यक्रम प्राप्त भएमा वार्षिक कार्यक्रम र बजेटमा आवश्यक समायोजन गरी कार्यान्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय गरिएको छ । साधारण सभाले नेपाल क्रिकेट संघको आयोजनामा सम्पन्न पहिलो र दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको आयव्यय विवरण पनि पारित गरेको छ । यसैगरी नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीमध्ये सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघलाई जनही दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ । जिल्ला संघहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा जिल्लाहरूलाई स्कोर कार्ड अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको छ । त्यस्तै नेपाल क्रिकेट संघले यस वर्षदेखि प्रत्येक वर्षको डिसेम्बरमा वार्षिक पुरस्कार घोषणा गर्ने निर्णयसमेत गरेको छ । यसअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, आजीवन योगदान सम्मान तथा वर्षको उत्कृष्ट क्षण विधामा पुरस्कार प्रदान गरिने क्यानले निर्णय गरेको छ ।

३- नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संशोधनको आवरणमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने प्रावधान ल्याइनु विधिको शासन, संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर प्रहार भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री पौडेलले प्रतिनिधिसभा नियमावली संशोधनमार्फत संसदीय समितिको आकार चुस्त बनाउने, प्रविधिको प्रयोग बढाउने तथा कार्यपालिका प्रमुख र विभागीय मन्त्रीलाई थप जवाफदेही बनाउने व्यवस्था सकारात्मक रहेको बताउदै संसद्को आन्तरिक कार्यसञ्चालन र व्यवस्थापनका लागि संविधानले नियमावली निर्माणको अधिकार दिए पनि त्यस्तो प्रत्यायोजित कानुनले संसद्का दुवै सदनबाट पारित मूल ऐनलाई विस्थापित गर्न नसक्ने बताएका हुन् । उनले विद्यमान कानुनअनुसार राष्ट्रसेवकमाथि फौजदारी मुद्दा दर्ता भएलगत्तै स्वतः निलम्बन हुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै नियमावलीमार्फत मूल ऐनको मर्म कमजोर पार्ने प्रयास कानुनी पदानुक्रम र विधायिकी प्रक्रियाको ठाडो उल्लंघन भएको बताएका छन् । सार्वजनिक पदमा रहेका व्यक्तिमाथि गम्भीर आरोप लागे नैतिक जिम्मेवारीस्वरूप पदबाट राजीनामा दिनु विश्वव्यापी लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले कानुनको नजरमा सबै समान हुने संवैधानिक व्यवस्था कमजोर पार्ने प्रयासले दण्डहीनतालाई संस्थागत गर्न खोजिएको संकेत गरेको बताए । उनले सामान्य नागरिक, राष्ट्रसेवक कर्मचारी वा सांसद जोसुकै भए पनि कानुनी व्यवहार समान हुनुपर्नेमा जोड दिएका छन् । महामन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनहरू नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बनेको उल्लेख गर्दै राजनीतिक संरक्षणका नाममा यस्ता कानुन कमजोर बनाइए नेपाल अन्तर्राष्ट्रिय रूपमा ग्रे सूचीबाट माथि उठ्न नसक्ने चेतावनी दिएका छन् । यसको असर देशको आर्थिक भविष्यमा गम्भीर रूपमा पर्ने उनको भनाइ छ । उनले संसद् र संसदीय समितिका सबै कामकारबाही पूर्ण रूपमा पारदर्शी हुनुपर्ने पनि बताएका छन् । जनताले आफ्ना प्रतिनिधिले संसद् र समितिमा के गरिरहेका छन् भन्ने जानकारी सहज रूपमा पाउनुपर्ने भन्दै सञ्चारमाध्यम तथा अन्य प्रभावकारी माध्यमबाट सबै सूचना नागरिकसमक्ष निर्बाध रूपमा पुग्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

४-  उत्तर कोरियाले आफ्नो संविधान र आणविक नीतिमा ठूलो परिवर्तन गर्दै नयाँ प्रावधान थपेको छ । अब देशका सर्वोच्च नेता किम जोङ उनको हत्या भए वा विदेशी आक्रमणका कारण नेतृत्व गर्न नसक्ने अवस्था आए तत्काल आणविक हमला गरिने व्यवस्था गरिएको छ । ब्रिटिस पत्रिका ‘द टेलिग्राफ’का अनुसार यो परिवर्तन मार्च महिनामा तेहरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि गरिएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनेईसहित धेरै वरिष्ठ इरानी अधिकारी मारिएका थिए । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार ती घटनापछि प्योङयाङ गम्भीर रूपमा सतर्क बनेको थियो । भविष्यमा आफूविरुद्ध पनि शीर्ष नेतृत्वलाई समाप्त पार्ने प्रकारको आक्रमण हुन सक्ने डर उत्तर कोरियामा बढेको बताइएको छ । यो नयाँ प्रावधान मार्च २२ मा प्योङयाङमा सुरु भएको १५ औँ सर्वोच्च जनसभा अधिवेशनको पहिलो सत्रमा पारित गरिएको थियो । त्यसपछि दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले वरिष्ठ सरकारी अधिकारीहरूलाई यसबारे जानकारी दिएको थियो । रक्षा विज्ञहरूका अनुसार इरानमाथिको आक्रमणले उत्तर कोरियाली नेतृत्वलाई झस्काएको छ । आक्रमणको तीव्रता र सटीकताले विदेशी शक्तिले किम जोङ उन र उत्तर कोरियाली सैन्य नेतृत्वविरुद्ध पनि यस्तै कारबाही गर्न सक्ने चिन्ता बढाएको हो । इरानमाथिको कारबाही उत्तर कोरियाका लागि ठूलो चेतावनी बनेको बताइएको छ । अमेरिका र इजरायलले इरानी नेतृत्वमाथि गरेको आक्रमण अत्यन्त प्रभावकारी देखिएकाले उत्तर कोरिया अहिले निकै त्रसित अवस्थामा रहेको छ । यस्तो नीति पहिले अनौपचारिक रूपमा अस्तित्वमा रहेको हुन सक्ने तर अहिले संविधानमै समावेश गरिएकाले यसको महत्व अझ बढेको विश्लेषण गरिएको छ । विज्ञहरूका अनुसार इरानको तुलनामा उत्तर कोरियामाथि यस्तै प्रकारको आक्रमण गर्न निकै कठिन हुनेछ । उत्तर कोरिया विश्वकै सबैभन्दा बन्द मुलुकमध्ये एक भएकाले त्यहाँ विदेशी कूटनीतिज्ञ, सहयोगकर्मी र व्यापारीमाथि कडा निगरानी राखिन्छ । यसका कारण गुप्त सूचना सङ्कलन गर्न कठिन हुने बताइएको छ ।

५- काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुने प्रतियोगिता जेठ ८ बाट १५ गतेसम्म ८ देशको सहभागितामा हुने जानकारी दिइएको छ । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ भने नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । यस पटकको प्रतियोगितामा अधिकतम ९०० देखि १ हजार मात्रै टिकट बिक्री गरिने नेपाल भलिबल संघले जानकारी दिएको छ । टिकटको मूल्य भने खेलअनुसार १०० देखि एक हजार रुपैंयाँसम्म हुनेछ । यस पटकको आधिकारिक टिकट बिक्रेता नेपाल भलिबल संघ आफैं रहेको संघले जानकारी दिएको छ ।

६-  मधेश प्रदेशमा सरकारमा सत्तासाझेदार चार दलहरुले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । सरकारका चार दल नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा र लोसपा नेपालले काँग्रेस नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गर्दै यथाशिघ्र विश्वासको मत लिने निर्णय गरेका छन् । यादव नेतृत्वको सरकारमा रहेको जनमतले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार परिवर्तनको चलखेल शुरु भएको थियो । १०१ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५१ सिट आवश्यक पर्दछ । जसमा सरकारमा रहेका चार दलमा काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५ र लोसपाको ८ सिट गरेर कुल ६३ सिट रहेको छ । मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा संबैधानिक परिषदको निर्णय सहि भएको बताएका छन् । रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले न्याय परिषदले सिफारिस गरेका ६ जना मध्येबाट एक जना चयन गर्दा कसरी संबिधान विपरित हुन्छ भन्दै प्रश्न गरेका छन् । लामिछानेले अहिले प्रधानन्यायाधीशको सिफारिसको विषयको अनावश्यक चर्चा भएको भन्दै यसलाई गरिमा र मर्यादामा राख्नुपर्नेमा जोड दिए । उनले संबिधानको व्यवस्था र दायरा अनुसार नै सिफारिस भएको बताउदै यस विषयलाई आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न नपाइने बताए ।

८- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई नयाँ किसिमले अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार कम्युनिष्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा बोल्दै प्रचण्डले सबै कम्युनिष्टहरु एक ठाउमा आउन नसके ठुलो संकट आउन सक्ने टिप्पणी गरे । उनले अहिले कम्युनिष्ट आन्दोलनलाई नै किनारमा पुर्याउन खोजिएको भन्दै नेतृत्वकर्ताहरुले जनताको एकताको चाहनालाई बुझेर आफ्ना स्वार्थ त्याग्न तयार भए देशभक्त र कम्युनिष्ट शक्ति मिलेर जान सकिने बताए ।  उनले भने- ‘आम रुपमा बामपन्थी र देशभक्त एकबद्ध हुनुपर्यो भन्ने आवाज उठेको छ । त्यस्तै अर्कोतर्फ शान्ति सम्झौता पक्षका दलहरु पनि एक ठाउमा आएर एउटा मोर्चा बनाउनुपर्ने आवाज जनताले उठाएका छन् ।’ प्रचण्डले भदौ २३ र २४ पछिको अवस्था नकारात्मकनै रहेको बताउदै नकारात्मक अवस्थामा पनि केहि सकारात्मक खोज्नुपर्ने र सबै कम्युनिष्ट एक हुने अवसर समेत भएको बताए ।

९- बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले भने बक्स अफिसमा ४ करोड कमाई पार गरेको छ । फिल्मले रिलिजको दुई सातामा घरेलु बक्स अफिसमा ४ करोडको आँकडा पार गरेको हो । यसका साथै यस वर्ष ४ करोड कमाउने यो पहिलो नेपाली फिल्म समेत बनेको छ । फिल्मले शनिबारसम्म ४ करोडभन्दा बढी कमाई गरेको फिल्मका निर्माता सुशील पोखरेलले जानकारी दिएका हुन् । निर्माता पोखरेलका अनुसार फिल्मको २६ वैशाखसम्मको कुल व्यापार ४ करोड ९ हजार ६६ रुपैयाँ ग्रस रहेको छ । कर कटौतीपछि फिल्मको नेट कमाइ ३ करोड ४८ लाख ५५ हजार ७४४ रुपैयाँ रहेको छ । यस अवधिमा फिल्मका १ लाख ४३ हजार ५७० टिकट बिक्री भएका छन् । गत शुक्रबारबाट तीन नयाँ फिल्म एकसाथ रिलिज भएपछि भने फिल्मको शो घटेको छ, जसका कारण अबको कलेक्सन पनि सोहि अनुसार घट्ने भएको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा ‘परालको आगो’ मा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मलाई आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको छ ।

१०- अभिनेता सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएपछि तीन आदेश जारी गरेका चाहन । शपथ लिएकै स्थान आइतबार चेन्नईस्थित नेहरू रंगशालामा मुख्यमन्त्री विजयले तीन आदेशमा हस्ताक्षर गरेका हुन् ।  उनले प्रत्येक घरलाई २ सय युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, लागुऔषध तथा नशासम्बन्धी समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिलाको सुरक्षाका लागि विशेष कार्यदल बनाउने निर्णय गरेका हुन् । शपथ पछिको सम्बोधनमा विजयले राज्यमा सामाजिक न्यायसहितको सरकार संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफुले गर्न नसक्ने बाचा नगर्ने स्पष्ट गर्दै जनताका दैनिकीसँग जोडिएका विषय आफ्नो पहिलो प्रथामिकता रहेको बताएका थिए । विजयको शपथसँगै राज्यमा झण्डै छ दशकदेखि पालैपालो सत्तामा रहँदै आएका दुई प्रमुख द्रविड दल द्रविड मुनेत्र कडगम र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगमको राजनीतिक वर्चस्व अन्त्य भएको छ । उनीसँगै तमिलगा वेत्री कडगमका केही वरिष्ठ नेतासहित थप नौ जनाले मन्त्री पदको शपथ लिएका छन् । विजयलाई मुख्यमन्त्री बनाउन ५ सिट जितेको भारतीय राष्ट्रिय काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेलेको थियो । काँग्रेस नेता राहुल गान्धी विजयको शपथ समारोहमा सहभागी भएका थिए र विजयले पनि आफ्नो सम्बोधनमा राहुल गान्धीको प्रसंशा गरेका थिए ।  साथै राज्यपालले विजयलाई मे १३ भित्र वा त्यसअघि विधानसभा बैठकमा विश्वासको मत लिन निर्देशन दिएका छन् ।

११- सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आगामी वैशाख २८ गते  बिहान ८:३० बजे वीर अस्पतालबाट  स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय भएको छ । यस अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ समावेश  छ ।  सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो ।  ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ,’ मार्गदर्शनको पृष्ठभूमिमा उल्लेख गरिएको छ ।  मार्गदर्शन अनुसार सरकारी सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्धरहित बनाइनेछ र नियमित पानीको व्यवस्था सुनिश्चित गरिनेछ। हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ र दैनिक सफाइको अभिलेख राख्नुपर्नेछ। शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्नेछ । त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ । कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’  तोक्नुपर्नेछ। प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ ।  यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ, जसले यसको नियमित अभिलेख राख्नुपर्नेछ । ​यो अभियानले  सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ ।

१२- विश्वभर खाद्यवस्तुको मूल्य पछिल्ला तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनका अनुसार अप्रिल महिनामा खाद्य वस्तु मूल्य सूचकांक १.६ प्रतिशतले बढेको छ । यो वृद्धि गत वर्षको तुलनामा २. ५ प्रतिशत बढी हो । प्रतिवेदनअनुसार अमेरिका–इरान युद्धका कारण विश्व खाद्य बजारमा ठूलो दबाब परेको छ। संगठनले आगामी महिनाहरूमा खाद्यवस्तुको मूल्य अझ बढ्न सक्ने चेतावनीसमेत दिएको छ । इरान युद्ध सुरु भएको १० हप्ता पुगेको छ । युद्धका कारण हर्मुज सामुद्रिक मार्ग बन्द भएपछि डिजेल, रासायनिक मल तथा कृषि उत्पादनका लागि आवश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ । इन्धन र मलको मूल्य बढेसँगै किसानलाई खेती गर्न कठिन भइरहेको छ। यसको प्रत्यक्ष असर आगामी समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने अनुमान गरिएको छ। प्रतिवेदनमा सबैभन्दा बढी असर वनस्पति तेलमा परेको उल्लेख छ । कच्चा तेलको मूल्य बढेपछि जैविक इन्धनको माग बढेको र त्यसकै प्रभावले मार्चको तुलनामा वनस्पति तेलको मूल्य ५ .९ प्रतिशतले बढेको बताइएको छ। यो वृद्धि जुलाई २०२२ पछिकै उच्च हो। मासुको मूल्य पनि १.२ प्रतिशतले बढेको छ, जुन हालसम्मकै उच्च स्तर मानिएको छ । त्यस्तै अन्नको मूल्यमा ०.८ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा कृषि संगठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अहिले कृषि तथा खाद्य उद्योग पुरानो मौज्दात बिक्री गरेर टिकिरहेको बताएका छन् । उनका अनुसार कच्चा पदार्थ र ऊर्जाको बढ्दो लागत पूर्ण रूपमा बजारमा प्रतिबिम्बित हुन थालेपछि उपभोक्ताले अझ ठूलो महँगीको सामना गर्नुपर्नेछ । टोरेरोले तनाव ९० दिनभन्दा लामो समयसम्म जारी रहे सन् २०२६ को अन्त्य र २०२७ मा विश्व खाद्य संकटको जोखिम उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएका छन् । खराब मौसम र सन् २०२६ मा गहुँ खेती कम हुने अनुमानले पनि अन्नको मूल्य बढाएको छ । मलको मूल्य महँगिएपछि किसानहरू कम मल प्रयोग हुने बालीतर्फ आकर्षित हुन थालेका छन् । विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय वस्तु बजारमा आएको मूल्यवृद्धिको प्रभाव खुद्रा बजारसम्म पुग्न केही समय लाग्ने भए पनि खाद्य महँगी अझ बढ्ने लगभग निश्चित भइसकेको छ ।

१३- राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार बैशाख २९ गतेभित्र नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको हो । परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।  कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ । यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

१४- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ५३०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२७५ मा कारोबार भएको थियो ।

१५- इरानको फुटबल महासंघले इरानले २०२६ को फिफा विश्वकप फुटबलमा सहभागी हुन आयोजक राष्ट्रहरूसमक्ष १० बुँदे कडा शर्त अघि सारेको छ । इरानले प्रतियोगितामा सहभागी हुने स्पष्ट गर्दै सुरक्षा, प्रवेश अनुमति र राष्ट्रिय सम्मानको प्रत्याभूति नभएसम्म टोली विश्वकपमा नजाने चेतावनी दिएको हो । इरानी फुटबल महासंघले अमेरिका, मेक्सिको र क्यानडालाई आफ्नो चिन्तालाई गम्भीर रूपमा लिन आग्रह गरेको छ । पछिल्लो कूटनीतिक तनाव र क्षेत्रीय द्वन्द्वपछि इरानले टोलीको सुरक्षा र व्यवहारलाई मुख्य मुद्दा बनाएको हो ।महासंघले सार्वजनिक गरेको वक्तव्यमा इरान आफ्नो विश्वास, संस्कृति र राष्ट्रिय मान्यताबाट पछि नहटी विश्वकपमा सहभागी हुने उल्लेख गर्दै आयोजक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने जनाएको छ । महासंघका अध्यक्ष मेहदी ताजले सरकारी दूरदर्शनमार्फत विश्वकप सहभागिताका लागि १० वटा शर्त सार्वजनिक गरेका छन् । ती शर्तमा खेलाडी र प्राविधिक टोलीलाई सहज रूपमा प्रवेश अनुमति दिनुपर्ने, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान गरिनुपर्ने तथा विमानस्थल, बसोबास स्थल र रंगशालासम्म जाने मार्गमा उच्च सुरक्षा व्यवस्था मिलाइनुपर्ने उल्लेख छ । प्रवेश अनुमतिसम्बन्धी विषय अहिले सबैभन्दा ठूलो विवाद बनेको छ । हालै क्यानडाले इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्ध रहेको आरोपमा इरानी फुटबल महासंघका एक अधिकारीलाई प्रवेश अनुमति नदिएपछि तेहरान थप सतर्क बनेको हो । इरानले अनिवार्य सैन्य सेवा पूरा गरेका खेलाडीलाई प्रवेश अनुमति प्रक्रियामा समस्या नपार्न माग गरेको छ । अध्यक्ष ताजले विशेष रूपमा मेहदी तारेमी र एहसान हाजसफीको नाम उल्लेख गर्दै इस्लामिक रिभोलुसनरी गार्डमा सेवा गरेका खेलाडीलाई कुनै अवरोध बिना प्रवेश अनुमति दिनुपर्ने बताएका छन् । यसबीच अन्तर्राष्ट्रिय फुटबल महासंघ अन्तर्राष्ट्रिय फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको तालिका पूर्वनिर्धारित योजनाअनुसार नै अघि बढ्ने बताएका छन् । इरान विश्वकप अवधिभर अमेरिकाको एरिजोना राज्यस्थित टक्सनमा बस्ने तालिका रहेको छ । समूह ‘जी’ मा रहेको इरानसँगै न्युजील्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन् । इरानले जुन १५ मा लस एन्जलसमा न्युजील्यान्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ ।

१६-  निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले पत्रकारलाई ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो । शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एचटीपी खबरका पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्- ‘ को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ यसले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा चलिरहेको छ । बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिएको छ । प्रधानन्यायाधीश सिफारिसमा उनले सार्बजनिक रुपमै मिडियामा असन्तुष्टि व्यक्त गरेकी छन् । त्यस्तै उनले जदाजादै नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।  बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए ।

१७-  रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरेका छन् ।  विजय दिवस परेडपछि दिएको वक्तव्यमा उनले युद्ध अब अन्तिम चरणतर्फ अघि बढिरहेको बताएका हुन् । साथै उनले यो युद्ध चर्काउन पश्चिमी देशका ‘वैश्विक अभिजात वर्ग’ जिम्मेवार रहेको आरोप लगाए । पुटिनले पश्चिमी देशहरूले आफ्ना भूराजनीतिक स्वार्थ पूरा गर्न युक्रेनलाई ‘हतियार’ का रूपमा प्रयोग गरेको आरोप लगाए । उनका अनुसार रुसको सुरक्षा चासोलाई पूर्ण रूपमा बेवास्ता गरिएको थियो र युक्रेनमार्फत रुसी सेनामाथि आक्रमण गराइएको थियो । उनले पश्चिमी सैन्य सहयोगकै कारण युद्ध लामो समयसम्म तानिएको दाबी पनि गरे । रुसी राष्ट्रपतिले सन् २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक शान्ति सम्झौताको प्रसंग पनि उठाए । उनले त्यसबेला युक्रेन सम्झौताका लागि तयार भएको र प्रारम्भिक कागजातमा हस्ताक्षरसमेत गरेको दाबी गरे । तर पछि फ्रान्स र बेलायतको दबाबपछि युक्रेन पछि हटेको उनको भनाइ थियो । पुटिनका अनुसार फ्रान्सका राष्ट्रपति र तत्कालीन बेलायती प्रधानमन्त्रीले उक्त सम्झौतालाई ‘अनुचित’ भन्दै युक्रेनलाई रोक्न भूमिका खेलेका थिए । उनले प्रश्न उठाउँदै भने, ‘जब युक्रेनी प्रतिनिधिमण्डल आफैं तयार थियो भने बाह्य शक्तिले त्यसलाई कसरी अनुचित भन्न सक्छ ?’ युद्ध पाँचौं वर्षमा प्रवेश गरिरहँदा पुटिनले पश्चिमी देशहरूको रणनीति असफल भएको दाबी गरे । उनले पश्चिमले केही महिनामै रुसलाई कमजोर पारेर राज्यसत्ता ध्वस्त पार्ने अपेक्षा गरेको तर त्यसमा पूर्ण रूपमा असफल भएको बताए । उनका अनुसार अहिले पश्चिमी शक्तिहरू आफैं संकटमा फसेका छन् । पुटिनले भविष्यमा युरोपमा राजनीतिक परिवर्तन हुने र रुससँग राम्रो सम्बन्ध चाहने शक्तिहरू सत्तामा आउने अपेक्षा पनि व्यक्त गरे । विजय दिवसको अवसरमा उनले भारत, चीन र अमेरिकाजस्ता प्रमुख राष्ट्रसँग युक्रेन युद्धको पछिल्लो अवस्थाबारे रणनीतिक जानकारी साझा गरिएको पनि बताए । शान्ति प्रक्रियालाई अगाडि बढाउन यी देशलाई विश्वासमा लिइएको उनको भनाइ थियो । यस कूटनीतिक पहलपछि रुस र युक्रेनबीच तीन दिने अस्थायी युद्धविराममा सहमति भएको पुटिनले जानकारी दिए। युद्धविरामको मुख्य उद्देश्य युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउनु र तनाव कम गर्नु रहेको उनले बताए । नाजीवादमाथिको ऐतिहासिक विजयको सम्मानस्वरूप यो कदम आवश्यक रहेको पुटिनको भनाइ थियो । उनले किभमा रहेका विदेशी दूतावासहरूको सुरक्षाको प्रत्याभूति पनि दिएका छन् । भारत र चीनजस्ता ‘मित्र राष्ट्र’ को सहभागितालाई उनले विश्व स्थिरताका लागि महत्वपूर्ण बताए । यद्यपि युद्धविराम केवल तीन दिनका लागि भए पनि यसलाई भविष्यमा स्थायी शान्ति सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा हेरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतापछि रुस र युक्रेनबीच तीन दिने युद्धविराम घोषणा गरिएको बताइएको छ । यो अस्थायी सहमति रुसको विजय दिवस समारोहसँगै लागू भएको हो । ट्रम्पका अनुसार पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धविराममा सहमत भएका थिए । यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने अझै पनि स्थायी समाधान र वार्तामार्फत शान्ति पुनःस्थापनाको अपेक्षा गरिरहेको छ ।

१८- अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च सम्वर्धित युरेनियम हटाएर आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । उक्त युरेनियम लामो समयदेखि भेनेजुएलाको पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । अमेरिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार कराकास नजिक रहेको केन्द्रबाट युरेनियम निकालेर सुरक्षित रूपमा अमेरिका पुर्‍याइएको हो । यो अभियान अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको संयुक्त समन्वयमा सम्पन्न भएको बताइएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार युरेनियमलाई स्थल र समुद्री मार्ग हुँदै अमेरिका ल्याइएको हो । अहिले यसलाई दक्षिण क्यारोलिनास्थित सवाना रिभर आणविक केन्द्रमा प्रशोधन गरिनेछ । अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनले यो अभियान दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको जनाएको छ । प्रशासनका अनुसार भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानमा प्रयोग गरिएको थियो । सन् १९९१ मा अनुसन्धान कार्य बन्द भए पनि त्यहाँ उच्च संवर्धित युरेनियम सुरक्षित रूपमा राखिएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार पूरा अभियान छ साताभन्दा कम समयमै सम्पन्न गरिएको हो । युरेनियमलाई विशेष सुरक्षा कन्टेनरमा राखेर करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगिएको थियो । त्यसपछि बेलायती आणविक ढुवानी कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको जनाइएको छ । अभियानको निगरानी गर्न राष्ट्रिय आणविक सुरक्षा प्रशासनका उपप्रशासक डाक्टर म्याट नेपोली पनि भेनेजुएला पुगेका थिए । उनले अनुभवी टोलीका कारण अभियान सफल भएको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अभियानको पुष्टि गर्दै यसलाई जटिल र संवेदनशील कार्य भनेको छ । प्रशासनका अनुसार सन् १९९६ यता विश्वका विभिन्न देशबाट ७ हजार ३५० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित बनाउने काम गरिसकिएको छ । यसबीच अमेरिकी प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्वर्धित युरेनियमबारे दबाब बढाइरहेको छ । विभिन्न प्रतिवेदनअनुसार इरानसँग करिब ४०८ किलो यस्ता सामग्री रहेको बताइए पनि अमेरिका त्यसलाई हटाउन भने सफल भएको छैन । हाल अमेरिका र भेनेजुएलाबीचको सम्बन्धमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्‍याटक्लिफसहित उच्च अधिकारीहरू भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक हवाई उडान पुनः सञ्चालनमा आएको छ भने अमेरिकी दूतावास पनि पुनः खोलिएको छ । विश्वकै ठूलो तेल भण्डार भएका देशमध्ये भेनेजुएला पनि एक हो । प्रतिवेदनहरूमा अमेरिकाले अहिले त्यहाँ ऊर्जा र खानी क्षेत्रमा लगानी तथा व्यापार विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ । यद्यपि केही लोकतन्त्र समर्थक समूहहरूले अमेरिकी नीतिको आलोचना गरेका छन् । यसैबीच अमेरिकाले सन् २०२६ जनवरीमा भेनेजुएलामा ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो । अमेरिकी सेनाले राजधानी कराकासमा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरिएको थियो । अमेरिकाले उनीमाथि लागुऔषध तस्करी र आतंकवादसँग सम्बन्धित आरोप लगाएको थियो । त्यसपछि भेनेजुएलामा राजनीतिक संकट गहिरिएको थियो । मादुरो पक्राउ परेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो । अमेरिकाले नयाँ सरकारलाई समर्थन गर्दै तेल व्यापारसहित केही आर्थिक प्रतिबन्धहरू खुकुलो बनाएको थियो । तर रूस, चीनलगायत केही देशहरूले अमेरिकी कदमको विरोध गरेका थिए । त्यसयता अमेरिका र भेनेजुएलाबीच कूटनीतिक सम्पर्क र आर्थिक सहकार्य बढ्दै गएको बताइएको छ ।

१९- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा जेरेमी डोकु, इर्लिंग हालाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ३५ खेलमा ७४ अंक भएको छ र शिर्ष स्थानमा रहेको आर्सनल भन्दा २ अंकले पछाडी रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको ३६ खेलमा ५१ अंक भएको छ र हाल आठौँ स्थानमा रहेको छ ।

images

२०- गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ७७ रनले पराजित गरेको हो । गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको राजस्थानले १६.३ ओभरमा अल आउट हुदै १५२ रन मात्र बनाएको थियो ।  राजस्थानका लागि रविन्द्र जडेजाले सर्बाधिक ३८ र वैभव सुर्यबंशीले ३६ रन बनाएका थिए ।  त्यस्तै गुजरातका बलर रसिद खानले सर्बाधिक ४ विकेट लिए भने जासन होल्डरले ३ र कागीसो रबाडाले २ र मोहमद सिराजले एक विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।  गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८४ रन बनाएका थिए भने साइ सुदर्शनले ५५ र वाशिंटन सुन्दरले ३७ रन बनाएका थिए ।  यो जितपचि९ गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।  गुजरातको ११ खेलमा १४ अंक भएको छ ।  त्यस्तै राजस्थानको भने ११ खेलमा १२ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच हुदैछ भने दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरू र मुम्बई इण्डियन्सबीच हुदैछ ।

 

Nepal life insuranceimagesimagesimages