


दक्षिण लेबनानमा इजरायलले गरेको श्रृङ्खलावद्ध हवाई आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । लेबनानी आधिकारिक स्रोतहरूले उक्त घटनाको पुष्टि गरेका हुन् । लेबनानी स्वास्थ्य मन्त्रालय र राष्ट्रिय समाचार एजेन्सीकाअनुसार मृत्यु हुनेहरूमा एक बालक समेत रहेका छन् भने अन्य कैयौँ बालबालिकाहरू घाइते भएका छन् । इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न शहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान (एभ्याकुएसन) आदेश दिएको थियो ।

त्यसलगत्तै गरिएको हवाई आक्रमणमा इजरायलले थुप्रै घरहरू समेत ध्वस्त पारेको छ । यसैबीच, हिजबुल्लाहले इजरायलद्वारा युद्धविरामको उल्लङ्घन गरिएको आरोप लगाउँदै रातभर लेबनान–इजरायल सीमा क्षेत्रमा इजरायली सैन्य सवारी साधन र सैनिकहरूको समूहलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।


हिजबुल्लाहका सांसद हसन फडलल्लाहले आफ्नो समूह इजरायली ‘आक्रमण’ विरुद्ध ‘रक्षात्मक स्थिति’ मा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले इजरायलले लेबनानी गाउँहरू वा बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेमा हिजबुल्लाहले कडा जवाफी कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
क्षेत्रीय तनाव र अमेरिका–इजरायली गतिविधिका कारण उत्पन्न द्वन्द्वपछि गत महिना मात्र इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको थियो। तर, पछिल्लो समय भएका यी आक्रमणहरूले उक्त युद्धविरामको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ ।



