दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनलाई राजनीतिक कोष ऐन उल्लंघनको आरोपमा ४ वर्ष कैद सजायको माग

 

दक्षिण कोरियाका विशेष अभियोजकले पूर्वराष्ट्रपति युन सुक–योललाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा चार वर्षको जेल सजाय माग गरेका छन् । युन र उनकी पत्नी किम केओन–ही संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेका स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले मंगलबार उक्त माग दाबी प्रश्तुत गरेको हो ।

Nepal life insurance

अभियोजन पक्षकाअनुसार युनले राजनीतिक बिचौलिया म्युङ ताए–क्युनबाट निःशुल्क रूपमा जनमत सर्वेक्षणको सुविधा लिएका थिए । यसै प्रकरणमा संलग्न म्युङका लागि विशेष अभियोजकको टोलीले तीन वर्षको कैद सजाय माग गरेको छ ।

सन् २०२२ को राष्ट्रपतीय निर्वाचनअघि, अप्रिल २०२१ देखि मार्च २०२२ को अवधिमा युनले ५८ पटक ती बिचौलियाबाट अवैध रूपमा निःशुल्क जनमत सर्वेक्षण प्राप्त गरेको आरोप छ । यसको बदलामा युन र उनकी पत्नीले पिपुल पावर पार्टीका एक पूर्व सांसदलाई संसदीय उपनिर्वाचनमा उम्मेदवार मनोनयन गराउन मिलेमतो गरेको दाबी गरिएको छ ।

पूर्वराष्ट्रपति युन हाल राज्यद्रोहको मुद्दामा जन्मकैदको सजाय भोगिरहेका छन् । सन् २०२४ डिसेम्बर ३ को राति उनले संकटकालीन सैन्य शासन (मार्शल ल) घोषणा गरेका थिए, जसलाई केही घण्टापछि नै नेशनल एसेम्बलीले खारेज गरिदिएको थियो। सोही सैन्य शासन घोषणालाई राज्यद्रोह ठहर गर्दै फेब्रुअरीमा उनलाई जन्मकैदको फैसला सुनाइएको थियो ।

सन् २०२५ अप्रिलमा संवैधानिक अदालतले महाभियोग प्रश्ताव सदर गरेपछि युन आधिकारिक रूपमा पदमुक्त भएका थिए । राज्यद्रोहको मुख्य योजनाकारको आशंकामा सन् २०२५ जनवरीमा उनी हिरासतमा लिइएका थिए । उनी दक्षिण कोरियाको इतिहासमा बहालवाला पदमा छँदै पक्राउ पर्ने र अभियोग दर्ता हुने पहिलो राष्ट्रपति हुन् ।

 

Nepal life insuranceimagesimagesimages