तमिलनाडुका मुख्यमन्त्री विजयले पाए विश्वासको मत, १४४ सांसदको समर्थन

काठमाडौँ । तमिलनाडु विधानसभामा मुख्यमन्त्री विजय नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ ।

सदनमा उपस्थित १७१ सांसदमध्ये सरकारको पक्षमा १४४ मत परेको हो । यो बहुमतका लागि आवश्यक मतभन्दा ५८ बढी हो । सरकारको पक्षमा परेको मतमध्ये ४७ सांसद रहेको अन्ना द्रविड मुनेत्र कडगम  (एआइएडिएमके) का २५ बागी सांसदको समर्थन गरेका थिए । विश्वासको मतको विपक्षमा २२ मत परेको थियो ।

५९ सांसद रहेको द्रविड मुनेत्र कडगम (डिएमके) ले मतदानअघि सदनबाट बहिर्गमन गरेको थियो । यसैबीच, पाट्टाली मक्कल काचीका ४ तथा भारतीय जनता पार्टीका १ सांसद अनुपस्थित रहे ।  सभामुखले मतदानमा भाग लिएनन् भने विजय नेतृत्वकै एक सांसदको मुद्दा उच्च अदालतमा रहेकाले उनी मतदानमा सहभागी हुन नसकेको बताइएको छ ।

क्रस मतदानसँगै एआइएडिएमके विभाजन उन्मुख भएको छ । पार्टी पलानीस्वामी र सीभी षण्मुगम समूहमा विभाजित भएको बताइएको छ । सदनमा प्रतिपक्षका नेता उदयनिधि स्टालिनले विजयले बागी सांसदहरूसँग गरेको भेटबारे प्रश्न उठाएका थिए । उनले यो परिवर्तन हो वा राजनीतिक सौदाबाजी भन्दै सरकारमाथि टिप्पणी गरेका थिए ।

यसको जवाफमा मुख्यमन्त्री विजयले आफ्नो सरकार धर्मनिरपेक्ष ढंगले तीव्र गतिमा काम गर्ने र कुनै पनि प्रकारको सांसद किनबेचमा संलग्न नहुने बताएका थिए ।

 

Nepal life insuranceimagesimagesimages