



कविता
छन्द : तूणक / चामर
अक्षर सङ्ख्या : १५
गण: र ज र ज र
सङ्केत: sis isi sis isi sis
विश्राम: सातौँ अक्षरमा
समस्या: शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले
स्वर्ण हुन्न जिन्दगी प्रभावले बिगार्दछ
भित्रभित्र देहमा अनेक रोग सार्दछ
घट्छ आयु तीव्र यो अशुद्ध खानपानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।।१
व्यक्तिसङ्ग व्यक्तिको चरित्र यो चिनाउँछ
गोल्फुतुल्य पेटको अनाज यो सडाउँछ
हानि गर्छ बेस्सरी अखाद्य वस्तु जाँडले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले।।२
कोमलाङ्गभित्र यो अनेक राग राख्दछ
स्वच्छ हुन्न तत्त्व यो पवित्र प्राण हर्दछ
दिन्न लाभ रक्तमा पिएर व्यर्थ सानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले।।३
मूर्ख हुन्छ व्यक्ति जो पिएर बर्बराउँछ
ज्ञान बोध चेत त्यो सधैँ सधैँ गुमाउँछ
नीच हुन्छ निम्सरो अयोग्य हुन्छ कामले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।।४
मान गान सानमा सदैव ज्यान चुक्दछ
लिप्त बन्छ लालची र दम्भ गर्न जान्दछ
सत्यता छ बातमा भन्यो स्वयम् विधानले
शक्ति घट्छ व्यक्तिको धुँवा र मद्यपानले ।।५

डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची



