


-टेकराज भुसाल, अर्घाखाँची।
अर्घाखाँची। जिल्लाको भूमिकास्थान-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत वडा स्तरीय पूर्णखोप तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिका वडा नं. १ अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाबमोजिम अनिवार्य खोप पूरा गरेपछि उक्त घोषणा गरिएको हो।


ढाकावाङ्ग स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझीले आर्थिक वर्ष २०८२/०८३ मा जन्मेदेखि १५ महिनासम्मका कुल १६ जना बालबालिकामध्ये १६ जनाले नै राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सम्पूर्ण खोप लगाएको जानकारी दिनुभयो।
वडाका सम्पूर्ण घरहरुकाे सर्वेक्षण गर्दा १६ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकाले समेत पूर्ण खाेप लगाएको प्रमुख रायमाझीले जानकारी दिनुभएको छ।
पूर्णखोप सुनिश्चित भएसँगै बालबालिकालाई विभिन्न सरुवा तथा जोखिमयुक्त रोगबाट सुरक्षित बनाउने अभियानमा वडा सफल बनेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।



