रुसी आक्रमणमा किएभको आवासीय भवन क्षतिग्रस्त, २४ जनाको मृत्यु

 

युक्रेनको राजधानी किएभस्थित एक नौतले आवासीय भवनमा रुसले गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिकासमेत रहेको युक्रेनी राज्य आपतकालीन सेवाले शुक्रबार पुष्टि गरेको छ । उक्त आक्रमणमा किएभको डार्निट्स्की जिल्लामा रहेको आवासीय भवनको एक हिस्सा पूर्ण रूपमा ध्वस्त भएको थियो ।

एजेन्सीका अनुसार सो घटनामा अन्य ४८ जना घाइते भएका छन् । ध्वस्त संरचनामा २८ घण्टाभन्दा लामो समयसम्म उद्धार कार्य सञ्चालन गरिएको थियो । त्यस क्रममा उद्धारकर्मीहरूले ३ हजार घनमिटरभन्दा बढी भग्नावशेष हटाएका थिए । युक्रेनी वायुसेनाकाअनुसार रुसले ६७५ वटा ड्रोन र ५६ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसको मुख्य निसाना राजधानी किएभ थियो ।

युक्रेनी रक्षा प्रणालीले ६५२ वटा ड्रोन र ४१ वटा क्षेप्यास्त्रलाई आकाशमै विफल पारिदिएको दाबी गरेको छ । यता, रुसी रक्षा मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै रुसी सेनाले युक्रेनका सैन्य लक्ष्यहरूमा श्रृङ्खलावद्ध आक्रमण गरेको जनाएको छ ।

रुसमाथि भएका युक्रेनी आक्रमणको प्रतिशोध स्वरूप मङ्गलबारदेखि शुक्रवारसम्म यी प्रहारहरू गरिएको रुसको दाबी छ । रुसी मन्त्रालयकाअनुसार आक्रमणको मुख्य निसानामा युक्रेनी रक्षा–औद्योगिक परिसर, इन्धन तथा ऊर्जा केन्द्रहरू, र सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात तथा बन्दरगाह पूर्वाधारहरू रहेका थिए ।

साथै, सैन्य विमानस्थल, ड्रोन निर्माण एवं भण्डारण स्थल, र विदेशी लडाकुहरूको अस्थायी आश्रयस्थलहरूमा पनि क्षति पु¥याइएको रुसले उल्लेख गरेको छ । यद्यपि, आवासीय भवनमा भएको मानवीय हताहती र क्षतिका सम्बन्धमा रुसले हालसम्म कुनैपनि सार्वजनिक टिप्पणी गरेको छैन ।

 

Nepal life insuranceimagesimagesimages