गाजामा इजरायली आक्रमणः हमासका वरिष्ठ कमाण्डर मारिएको दाबी

 

इजरायली सेनाले गाजा शहरमा गरेको पछिल्लो हवाई आक्रमणमा परी ७ प्यालेस्टिनीको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतकाअनुसार शुक्रवार साँझ एक आवासीय अपार्टमेन्ट र गुडिरहेको सवारी साधनलाई लक्षित गरी उक्त हमला गरिएको हो ।

इजरायली रक्षा बल (आईडीएफ) ले हमासको सशस्त्र सैन्य शाखा ‘अल–कसाम ब्रिगेड’ का वरिष्ठ कमाण्डर इज अल–दिन अल–हदादलाई लक्षित गरी सो कारबाही गरिएको जनाएको छ । इजरायलको सरकारी टेलिभिजन ‘कान टिभी’ ले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै उक्त आक्रमण सफल भएको र अल–हदाद सम्भवतः मारिएको उल्लेख गरेको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले एक संयुक्त विज्ञप्ति जारी गर्दै ७ अक्टोबर २०२३ मा इजरायलमा भएको भीषण आक्रमणका मुख्य योजनाकारमध्ये एक अल–हदादमाथि सेनाले कारबाही गरेको जानकारी दिनुभएको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीकाअनुसार इजरायली लडाकु विमानले पश्चिमी गाजा शहरमा रहेको अल–मुताज भवनको एक अपार्टमेन्टमा कम्तीमा तीनवटा मिसाइल प्रहार गरेका थिए । आक्रमणका कारण उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीद्वारा सञ्चालित अल–सराय फिल्ड अस्पतालका चिकित्सकहरूले दिएको जानकारीअनुसार उक्त स्थानबाट एक महिला र एक बालकसहित चारजनाको शव निकालिएको छ भने ४४ जना घाइतेको उपचार भइरहेको छ ।

त्यसैगरी, गाजा सहरको मध्य भागमा पर्ने अल–वेहदा सडकमा गुडिरहेको एक सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाउँदा अन्य तीनजनाको मृत्यु भएको र ६ जना घाइते भएको स्थानीय स्रोतले जनाएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार ‘घोस्ट अफ अल–कसाम’ उपनामले चिनिने अल–हदाद इजरायलको सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति हुन् । उहाँले यसअघि भएका धेरै घातक आक्रमण र हत्याका प्रयासहरूबाट बच्न सफल भएका थिए ।

 

Nepal life insuranceimagesimagesimages