इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मारिएको पुष्टि

 

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना सैन्य दस्ता ‘अल–कसम ब्रिगेड’का कमान्डर–इन–चिफ इज–अल–दिन अल–हद्दाद इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । हमासका प्रवक्ता हाजेम कासिमले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै शुक्रवार गाजा शहरमा भएको इजरायली आक्रमणमा हद्दाद मारिएको जानकारी दिनुभएको हो ।

प्यालेस्टिनी स्रोतकाअनुसार शनिबार गाजा सिटीमा अल–हद्दादको अन्त्येष्टि सम्पन्न भएको छ । मध्य गाजाको अल–अक्सा शहीद मस्जिदबाट शुरु भएको शवयात्रामा सयौँ प्यालेस्टिनीहरूको सहभागिता रहेको थियो । उक्त आक्रमणमा हद्दादका साथै उनकी पत्नी र छोरीको पनि मृत्यु भएको छ । शवयात्रामा सहभागीहरूले इजरायली सैन्य कारबाहीको निन्दा गर्दै नाराबाजी गरेका थिए ।

Nepal life insurance

यसअघि शनिवार नै इजरायली सेना र आन्तरिक सुरक्षा निकाय ‘सिन बेट’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रवारको हवाई आक्रमणमा हद्दाद मारिएको दाबी गरेका थिए । इजरायलका अनुसार हद्दाद ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको घातक आक्रमणका मुख्य योजनाकारमध्ये एक थिए ।

इजरायली सैन्य प्रमुख इयाल जामिरले एक छुट्टै विज्ञप्ति जारी गर्दै अक्टोबर ७ को घटनामा संलग्न जोकोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार शुक्रवार गाजा शहरको एउटा आवासीय भवन र सवारी साधनमा भएको इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

‘घोस्ट अफ अल–कसम’ (अल–कसमको भूत) उपनामले चिनिने अल–हद्दाद इजरायलको ‘मस्ट वान्टेड’ सूचीमा रहेका शिर्ष व्यक्ति थिए । इजरायली सञ्चारमाध्यमका अनुसार उनी यसअघि भएका कयौँ हत्या प्रयासहरूबाट बच्न सफल भएका थिए । गाजास्थित राजनीतिक विश्लेषक आहेद फेरवानाकाअनुसार अल–हद्दादको मृत्युले हमासको स्थलगत कमान्ड सञ्चालनमा प्रभाव पार्न सक्छ । विश्लेषक फेरवानाले यस आक्रमणको समयलाई इजरायलको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरेका छन् ।

उनकाअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सम्भावित निर्वाचनअघि आफ्नो राजनीतिक साख बलियो बनाउन यस्ता सैन्य सफलतालाई प्रयोग गर्न खोजेका हुन सक्छन् ।

 

Nepal life insuranceimagesimagesimages