कङ्गोमा इबोलाको प्रकोपबाट ८७ जनाको मृत्यु, नयाँ प्रजातिका लागि खोप नहुँदा जोखिम बढ्यो

 

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण ८७ जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार दिएको जानकारी अनुसार यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध छैन । अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले एक अनलाइन पत्रकार सम्मेलनमा बताए अनुसार पूर्वी कङ्गोको इटुरी प्रान्तमा हालसम्म ३३६ जनामा संक्रमणको शंका वा पुष्टि भएको छ ।

Nepal life insurance

सन् १९७६ यता कङ्गोमा इबोला देखिएको यो १७ औँ पटक हो । कासेयाकाअनुसार बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्र पहिचान गरिएको हो र यसको कुनै प्रमाणित खोप उपलब्ध छैन । कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले यस प्रजातिको मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ । स्वास्थ्य मन्त्रीकाअनुसार यस प्रजातिका लक्षणहरू अन्य प्रजातिभन्दा केही फरक छन् । यसमा शुरुमा ज्वरो आउने र पछिल्लो चरणमा मात्र रक्तश्राव हुने लक्षण देखिन्छ ।

अधिकारीहरूले ज्वरो, बान्ता, थकान वा रक्तश्राव जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन् । यो संक्रमण खानी क्षेत्र र व्यावसायिक केन्द्रहरूमा फैलिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ । विशेष गरी मोङ्गवालु खानी क्षेत्रमा मानिसहरूको आवतजावत बढी हुने भएकाले छिमेकी प्रान्तहरू र सीमावर्ती मुलुकहरू युगाण्डा र दक्षिण सुडानमा समेत जोखिम बढेको छ । युगान्डामा कङ्गोबाट आएका एक ५९ वर्षीय पुरुषको बुन्डिबुग्यो प्रजातिकै कारण मृत्यु भइसकेको पुष्टि भएको छ ।

अफ्रिका सीडीसीले यस प्रकोपलाई ‘ग्रेड–३’ स्तरको जोखिममा वर्गीकरण गरेको छ । कङ्गोमा यसको जोखिम ‘अत्यधिक’ रहेको र पूर्वी अफ्रिकामा ’उच्च’ रहेको जनाइएको छ । अप्रिल महिनादेखि नै शुरु भएको यो प्रकोपको पहिलो संक्रमित (इन्डेक्स केस) अझै पहिचान हुन नसकेकाले संक्रमणको वास्तविक भयावहता आकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन् ।

इबोला भाइरस अत्यधिक संक्रामक मानिन्छ, जसले उच्च ज्वरो, बान्ता, झाडापखाला र गम्भीर अवस्थामा शरीरका भित्री तथा बाहिरी अंगबाट रक्तश्राव गराउँदछ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसको प्रजातिअनुसार इबोलाको मृत्युदर फरक–फरक हुने गर्दछ ।

 

Nepal life insuranceimagesimagesimages