पश्चिमी किनारमा इजरायली सेनाको कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु

 

वेस्ट बैंकको उत्तरी क्षेत्रमा रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी पुरुषको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गर्दै मृतकको पहिचान ३४ वर्षीय नुर अल–दिन फैयादका रूपमा गरिएको जनाएको छ ।

Nepal life insurance

मन्त्रालयद्वारा जारी संक्षिप्त विज्ञप्तिअनुसार जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको छापा मार्ने क्रममा फैयादको तिघ्रामा गोली लागेको थियो । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आफ्ना स्वास्थ्यकर्मीहरूले शिविरको प्रवेशद्वारमा ती युवकको उपचार गरेको जानकारी दिएको छ । गोली लागेपछि उनको श्वासप्रश्वास र मुटुको चाल बन्द भएको (कार्डियाक एरेस्ट) सोसाइटीले उल्लेख गरेको छ । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार ५७ हजारभन्दा बढी मानिसको बसोवास रहेको उक्त शिविरमा प्रवेश गर्न खोज्दा इजरायली सैनिकहरूले फैयादमाथि गोली चलाएका थिए ।

यस घटनाबारे इजरायली अधिकारीहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । प्यालेस्टिनी तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि जेनिन र यसको शरणार्थी शिविरमा जारी इजरायली सैन्य कारबाहीमा मारिने प्यालेस्टिनीहरूको सङ्ख्या ६५ पुगेको छ । सन् २०२३ अक्टोबर ७ मा गाजा क्षेत्रमा इजरायली युद्ध शुरु भएदेखि वेस्ट बैंकका शहर, नगर र गाउँहरूमा हिंसा, गिरफ्तारी, घर तथा सम्पत्ति विनाश र आक्रमणका घटनाहरूमा तिब्र वृद्धि भएको छ ।

प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन (पीएलओ) को एक निकायका अनुसार गत अप्रिल महिनामा मात्र इजरायली सेना र बसोवासीहरूले प्यालेस्टिनीहरू, उनीहरूको जमिन र सम्पत्ति लक्षित गरी १ हजार ६ सय भन्दा बढी आक्रमणहरू गरेका छन् । संयुक्त राष्ट्र सङ्घको सन् २०२५ को प्रतिवेदनअनुसार पूर्वी जेरुसेलमसहित वेस्ट बैंकमा हाल ७ लाख इजरायली बसोवासी र ३३ लाख प्यालेस्टिनीहरूको बसोबास रहेको छ ।

 

Nepal life insuranceimagesimagesimages