टर्कीमा श्रृङ्खलावद्ध गोली प्रहारः ६ जनाको मृत्यु, ८ घाइते

 

दक्षिण टर्कीको मेर्सिन प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध गोलीकाण्डमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । रेस्टुरेन्ट सम्बन्धी विवादका कारण उक्त हिंसात्मक घटना भएको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएको छ । समाचारकाअनुसार घटनाको सुरुवात मेर्सिनको चाम्लियाला जिल्लाबाट भएको थियो ।

त्यहाँ एक संदिग्ध व्यक्तिले ‘पम्प–एक्शन शटगन’ प्रयोग गरी सडकमा आफ्नी पूर्वपत्नीको गोली हानी हत्या गरेका थिए । त्यसपछि ती संदिग्ध टार्सस जिल्लास्थित एक रेस्टुरेन्टमा पुगेर आफ्नो गुडिरहेको कारबाटै अन्धाधुन्ध गोली चलाएका थिए । उक्त आक्रमणमा रेस्टुरेण्ट सञ्चालक र एक कर्मचारीको ज्यान गएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार रेस्टुरेन्ट सञ्चालकसँग संदिग्धको पुरानो रिसइबी रहेको थियो ।

सोही क्रममा गोली लागेर नजिकै रहेका एक गोठाला गम्भीर घाइते भएका थिए, जसको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । संदिग्धले अर्को एक छिमेकी इलाकामा पुगेर थप दुई जनाको हत्या गरेको अनादोलुले उल्लेख गरेको छ । घटनालगत्तै सुरक्षा निकायले संदिग्धको खोजीका लागि मेर्सिन र छिमेकी प्रान्त अदानाका विभिन्न स्थानमा सडक अवरुद्ध (रोडब्लक) गरी स्थल तथा हवाई अप्रेशन सुरु गरेको छ । खोजी कार्यमा हेलिकप्टर र ड्रोनको समेत प्रयोग गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

यसअघि गत अप्रिलमा दक्षिण–पूर्वी टर्कीका दुई विद्यालयमा भएका गोलीकाण्डमा १० जनाको मृत्यु र करिब ३० जना घाइते भएका थिए । उक्त घटनापछि देशभर सुरक्षा व्यवस्था कडा पारिएकै समयमा पुनः यो दुखद घटना भएको हो ।

 

 

Nepal life insuranceimagesimagesimages