

अफगानिस्तानको राष्ट्रिय संग्रहालयले दशकौँ लामो द्वन्द्व र राजनीतिक अस्थिरताका बाबजुद देशको हजारौँ वर्ष पुरानो इतिहास, संस्कृति र पहिचानलाई जीवन्त राख्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । काबुलको पश्चिमी क्षेत्रमा अवस्थित यो संस्थाले अफगान जनताको पुख्र्यौली विरासतलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य गरिरहेको छ ।
अन्तर्राष्ट्रिय संग्रहालय दिवसको सन्दर्भमा यस ऐतिहासिक संस्थाको महत्व झन् प्रस्टिएको छ । हाल यस संग्रहालयमा ६० हजारभन्दा बढी पुरातात्विक र ऐतिहासिक सामग्रीहरू संरक्षित छन् । यहाँ कुषाण साम्राज्य, ग्रीक–बौद्ध सभ्यता, कांस्य युग, अचेमेनिड साम्राज्य, हेलेनिस्टिक काल, ग्रीको–ब्याक्ट्रियन युग र विभिन्न इस्लामिक राजवंशका अमूल्य कलाकृतिहरू रहेका छन् ।

विशेषगरी सुन र ‘लापिस लाजुली’ रत्नले सजिएका प्राचीन पाण्डुलिपि तथा ऐतिहासिक दस्तावेजहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने गरेका छन् । संग्रहालयको जीर्णोद्धार विभागका निर्देशक याह्या मुहिबजादाका अनुसार, विगत एक वर्षमा २१ हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरेका छन्।

जसमा ६ हजार ७ सय ५० जना विदेशी पर्यटक रहेका छन्। निर्देशक मुहिबजादाले पछिल्ला वर्षहरूमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिँदै संग्रहालयले सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणका लागि निरन्तर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
संग्रहालयको मुद्रालोक (ल्गmष्कmबतष्अक) शाखाका प्रमुख मायल आका करिमीले ऐतिहासिक सम्पदाको संरक्षणलाई राष्ट्रिय पहिचानको सुरक्षासँग तुलना गर्नुभएको छ । विगत २० वर्षदेखि यस क्षेत्रमा कार्यरत करिमीका अनुसार, द्वन्द्व र राजनीतिक उपेक्षाका कारण क्षतिग्रस्त भएका कलाकृतिहरूलाई संग्रहालयको विशेषज्ञ टोलीले निरन्तर पुनःस्थापना र संरक्षण गरिरहेको छ ।

अफगान अधिकारीहरूले राष्ट्रिय सम्पदाको चोरी र अवैध तस्करी नियन्त्रण गर्न पनि सक्रियता बढाएका छन्। पछिल्लो तथ्यांकअनुसार, अफगान प्रहरीले गत एक वर्षमा १४२ वटा अमूल्य ऐतिहासिक र सांस्कृतिक सामग्रीहरू विदेश तस्करी हुनबाट रोक्न सफल भएको छ । दशकौँको अनिश्चितताका बीच पनि यो संग्रहालय अफगानिस्तानको गौरवमय सभ्यताको संरक्षकका रूपमा अडिग रहेको छ ।



