

इरानले अघि सारेको १४ बुँदे शान्ति प्रश्तावलाई सार्वजनिक रूपमा अस्वीकार गरेपनि संयुक्त राज्य अमेरिकाले पाकिस्तानमार्फत केही ‘संशोधित’ बुँदा र विचारहरू पठाएको इरानी विदेश मन्त्रालयले दाबी गरेको छ । सोमवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुई देशबीच वार्ताको प्रक्रिया अझै जारी रहेको जानकारी दिनुभएको हो ।

यसै क्रममा प्रवक्ता बाघेईले इरानले आफ्नो अधिकारका विषयमा कुनैपनि सम्झौता वा वार्ता नगर्ने स्पष्ट पार्नुभयो । आणविक अप्रसार सन्धि (एनपीटी) अन्तर्गत इरानको युरेनियम संवर्धन गर्ने अधिकार स्थापित भइसकेको उल्लेख गर्दै उहाँले यसका लागि अन्य पक्षको मान्यता आवश्यक नपर्ने बताउनु भयो ।

स्ट्रेट अफ हर्मुजको सुरक्षाका सम्बन्धमा बोल्दै बाघेईले उक्त जलमार्गमा सुरक्षित समुन्द्री यातायात सुनिश्चित गर्न इरानले सधैं उल्लेख्य प्रयास गर्दै आएको र सुरक्षित आवागमनको आवश्यकतामा जोड दिएको बताउनु भयो । स्ट्रेट अफ हर्मुज इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा अवस्थित रहेकाले ती दुई तटीय देशहरू सुरक्षित यातायातको सुनिश्चितताका लागि आवश्यक कदम चाल्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ । बाघेईले वर्तमान असहज परिस्थितिका लागि अमेरिका र इजरायलको ‘कानूनविहीन’ गतिविधिलाई जिम्मेवार ठह¥याउनुभएको छ ।
उनीहरूका आक्रमणका कारण इरानले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाका लागि अन्तर्राष्ट्रिय कानुन अनुरूपका उपायहरू अवलम्बन गर्नुपरेको उहाँले जिकिर गर्नुभयो । तटीय देशहरूको सार्वभौमिकता र सुरक्षाको रक्षा गर्दै जलमार्गबाट सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र विकास गर्न इरानले ओमान र अन्य सम्बन्धित पक्षहरूसँग सम्पर्क गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

गत अप्रिलमा ४० दिन लामो द्वन्द्व अन्त्य गर्ने गरी भएको युद्धविराम पश्चात इरान र अमेरिकाले पछिल्ला हप्ताहरूमा पाकिस्तानमार्फत द्वन्द्व समाधानका विभिन्न शर्तहरू समेटिएका योजनाहरू आदानप्रदान गर्दै आएका छन् ।



