

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले वार्ता गर्ने भन्दैमा इरान झुक्ने वा आत्मसमर्पण गर्ने अवस्था नरहेको बताएका छन् । उनले इरानले आफ्नो सार्वभौमसत्ता र कानुनी अधिकार जोगाउँदै मात्रै वार्ता अघि बढाउने स्पष्ट पारेका छन् ।


पेजेशकियानले इस्लामिक गणतन्त्र इरानले सम्मान, शक्ति र राष्ट्रिय अधिकारको रक्षा गर्दै कूटनीतिक संवादमा सहभागी हुने बताए । उनले कुनै पनि परिस्थितिमा इरानी जनता र देशको कानुनी अधिकारबाट पछि नहट्ने अडान दोहोर्याए ।
उनले इरान तर्क र पूर्ण शक्तिका साथ अन्तिमसम्म जनताको सेवा गर्नेछौँ र इरानको हित तथा सम्मानको रक्षा गर्ने बताएका छन् ।
इरानले आफ्नो युरेनियम संवर्द्धन कार्यक्रममाथि कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारेको छ ।


इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले युरेनियम संवर्द्धन इरानको अधिकार भएको भन्दै अन्य देशको दबाबले कुनै असर नपर्ने बताएका छन् । उनका अनुसार इरान आफ्नो आणविक कार्यक्रममा कुनै दबाबमा आउने छैन ।
यसैबीच इरानले अमेरिकालाई पुनः सैन्य कारबाही नगर्न चेतावनी दिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता इब्राहिम रेजाईले यदि इरानविरुद्ध फेरि आक्रमण भए त्यसको अझ शक्तिशाली जवाफ दिइने बताएका छन् ।
रेजाईले यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अपमानको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले अमेरिकासामु दुई विकल्प मात्रै रहेको उल्लेख गर्दै या त कूटनीति र इरानका सर्त स्वीकार गर्नुपर्ने, नभए इरानी क्षेप्यास्त्रको शक्ति सामना गर्नुपर्ने बताएका छन् ।



