पाणिनी–७ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयको विरोध, काम रोकियो (तस्बिर सहित)
जेष्ठ ५ गते, २०८३ मा प्रकाशित
– डिआरजी सुमन / अर्घाखाँची डटकम।
अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ७ मा निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै स्थानीय नागरिकले विरोध जनाएका छन् । नागरिकको गुनासोपछि सम्बन्धित प्राविधिक निर्माण स्थलमै पुगेर कमजोर संरचना भत्काउने काम समेत गरिएको छ ।
स्थानीयका अनुसार निर्माण सामग्रीमा गुणस्तर नदेखिएपछि उपभोक्ता समिति र नागरिकले प्रश्न उठाएका थिए । स्थानीयले जानकारी गराएपछि स्वतन्त्र पत्रकार डिआरजी सुमनसँगै पाणिनी गाउँपालिका पूर्वाधार शाखाका प्राविधिक मनीष कुमार ठाकुर निर्माण स्थलमा पुग्नुभएको थियो ।
अनुगमनका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरिएको संरचना नै भत्काइएको बताइएको छ । स्थानीय उपभोक्ता समिति अध्यक्षले यस प्रकारको सामग्री प्रयोग गरेर काम नगर्न वडा कार्यालयलाई जानकारी गराइएको बताउनुभएको छ ।
घटनास्थलमा जिल्ला समन्वय समिति सदस्य तथा पाणिनी–७ बाट निर्वाचित जनप्रतिनिधि कमल घिमिरे समेत पुग्नुभएको थियो । उहाँले गुणस्तरहीन सामग्री प्रयोग गर्नु गलत भएको बताउँदै विकास निर्माणमा पारदर्शिता र गुणस्तर कायम हुनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच वडा अध्यक्ष गुनाखर अधिकारीले तोकिएको मापदण्डअनुसारको निर्माण सामग्री नआएसम्म काम रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले पुनः गुणस्तरीय सामग्री आएपछि मात्र निर्माण कार्य अगाडि बढाइने स्पष्ट पार्नुभयो ।
स्थानीय नागरिक सचेत हुँदा विकास निर्माणका काममा हुने कमजोरी रोक्न सकिने उदाहरण पाणिनी–७ का नागरिकले प्रस्तुत गरेको भन्दै स्थानीय स्तरमा प्रशंसा गरिएको छ ।